जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आजदेखि नयाँ वर्ष प्रारम्भ , विक्रम संवत् २०८१ सुरु

जन्मभुमि खबर ,
पोखरा ।

आजबाट नयाँ वर्ष २०८१ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते देश विदेशमा बस्ने नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइरहेका छन् ।

विक्रम संवत्को पात्रोअनुसार आजदेखि नयाँ वर्ष लाग्दैछ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ ।

विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।

नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश–विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

राणा प्रधानमन्त्री चन्द्र शमशेरले वि स १९६१देखि वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने चलन सुरु गरेका थिए ।