जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनकोसीमा बेपत्ता तीनै जना बालबालिकाको शव फेला 

जन्मभुमि खबर ,
पोखरा ।

सुनकोसी नदीमा बेपत्ता तीन बालबालिकाको शव भेटिएको छ । आइतबार होली खेल्दै उदयपुरको त्रियुगा नगरपालिका–१४, ढाप्लाङस्थित सुनकोसी नदीमा पौडी खेल्न पुगेका तीन बालबालिका बेपत्ता भएका थिए ।

उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने बजारका १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगरको शव फेला पारिएको हो ।

बेपत्ता मध्ये रिदमको शव मंगलबार बेलुका घटनास्थलभन्दा एक किलोमिटर तल घिर्लिङ भन्ने ठाउँमा भेटिएको थियो । रेखा र लोकबहादुरको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।

बेपत्ता बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरी बल नम्बर १ बराहबाहिनी पकलीका प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा गोताखोरको टोली र नेपाल प्रहरीसँगै स्थानीय जुटेका थिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृतकहरू रेखा स्थानीय रुद्र पुलामीकी छोरी हुन् भने लोकबहादुर मेहरमान मगरका छोरा तथा रिदम केदार मगरका छोरा हुन्।