जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रहरीले सुरक्षा जाँच गरिरहेको अवस्थामा रोकिराखेको बसमा माइक्रोबस ठोक्किँदा ८ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

चितवनको भरतपुर महानगरपालकिा-१ रामनगरमा रोकिराखेको बसमा माइक्रोबस ठोक्किँदा ८ जना घाइते भएका छन्।

मुग्लिन–नारायणगढ सडक खण्डको रामनगरमा आज (बिहीबार) बिहान दुई सवारी आपसमा ठोक्किएका प्रहरीले जनाएको छ।

झापाबाट काठमाण्डौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको बस रोकेर ट्राफिक प्रहरीले सुरक्षा जाँच गरिरहेको अवस्थामा तीव्र गतिमा आएको ग २ ख २२५ नम्बरको माइक्रोबस ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका ८ मध्ये ४ जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम् प्रहरी प्रवक्ता श्रीराम भण्डारीले जनाकारी दिए।

भरतपुर महानगरपालिका–११ की ४४ वर्षीया मिना सापकोटा, भरतपुर–५ का ४० वर्षीय केशर साह, भरतपुर–१४ की ५१ वर्षीया धनुमाया ढकाल, भरतपुर–२ का ३० वर्षीय काशी उपरकोटी दुर्घटनामा गम्भीर घाइते भएका हुन्।

उनीहरुको टाउको, अनुहार तथा हात गाेडामा चोट लागेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए।

गोर्खा सिरानचोक–१ की २६ वर्षीया प्रीति रम्तेल मध्यम घाइते भएकी छिन्। उनको पनि शरीरका विभिन्न भागमा चोट रहेकाे प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका भरतपुर–२० का ४७ वर्षीय तुलबहादुर घले, भरतपुर–२१ की ४४ वर्षीया मेनका तामाङ, भरतपुर–१४ का ५३ वर्षीय हरिराम ढकालको अवस्था भने सामान्य छ।

उनीहरू सबैको भरतपुरको सीएमसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनाको कारण स्थानीय कमलबहादुर न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेजमा समेत क्षति पुगेको छ।