जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

जन्मभुमि खबर ,
पोखरा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनधिसभाबाट विश्वासको मत पाएका छन् ।

गत फागुन २१ गते गठबन्धन फेरेर नेकपा एमालेसँग मिसिएपछि नेपाली कांग्रेसले समर्थन फिर्ता लिँदा प्रचण्डले विश्वासको मत लिनुपरेको हो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मतविभाजनबाट विश्वासको मतको छिनोफानो गरेका थिए।

जसअनुसार प्रतिनिधिसभामा बुधबार उपस्थित २६८ मध्ये प्रचण्डको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको छ। मत दिन्न भन्ने पक्षमा १ मत खसेको सभामुख देवराज घिमिरेले घोषणा गरे।

यस पटक प्रचण्डको पक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी उभिए।

त्यस्तै डा. अमरेश सिंह, योगेन्द्र मण्डलसहितको मत पनि उनले पाएका छन्। प्रतिनिधि सभामा एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १० सांसद छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा चयन भएका थिए। यसअघि उनले २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता रञ्जिता श्रेष्ठले पनि ह्वीप जारी गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिइसकेकी छन्। संसद्मा सम्बोधनका क्रममा पनि उनले प्रचण्डलाई विश्वासको मत दिने बताइन्।

प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक थियो। तर त्यसभन्दा बढी मत उनलाई मिलेको हो।

त्यतिबेला संसद्मा उपस्थित दुई सय ७० सांसदमध्ये दुई सय ६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। नेपालको इतिहासमै सबैभन्दा बढी मत प्राप्त गर्ने प्रधानमन्त्रीका रूपमा उनको नाम लेखिएको छ। त्यसबेला नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायतका सबै दलले उनलाई विश्वासको मत दिएका थिए।

राष्ट्रपति निर्वाचनका क्रममा पुनः सत्ता गठबन्धन फेरियो । नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिए।

सत्ता गठबन्धन फेरिएपछि २०७९ चैत ६ गते पुनः प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका थिए। सो दिन प्रतिनिधिसभामा भएको मतदानमा उनले एक सय ७२ मत प्राप्त गरेका थिए। उनको विपक्षमा ८९ मत परेको थियो।

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही महिनाको २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।

२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो। चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए।

त्यतिबेला सदनमा २६२ सांसद उपस्थित भएका थिए। विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो।

अहिले ८८ सिट रहेको नेपाली कांग्रेस, १४ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, ६ सिट रहेको जनमत पार्टी, ४ सिट रहेको  लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन्। त्यस्तै एक एक सिट रहेका नेपाल मजदुर किसान पार्टी र जनमोर्चाले पनि प्रचण्डलाई मत दिएनन्।