जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पहिलो दिनको एसइई परीक्षा शान्तिपुर्ण , गण्डकीका ४० हजार बढी विद्यार्थी सहभागी , दैलेखमा एक नक्कली नक्कली परीक्षार्थी फेला

जन्मभुमि खबर ,
पोखरा ।

आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न भएको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । उनका अनुसार बिहान ८ बजे देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सुरु भएको थियो ।

चैत २७ गते सम्पन्न हुने परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित आवश्यक तयारी गरिएको उनले बताए ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ जना छात्र र अन्य १५ जना गरी कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थीले फारम भरेका थिए । परीक्षामा केही परीक्षार्थीको सङ्ख्या घटेको हुनसक्ने परीक्षा नियन्त्रक पौडेलले बताए । उनका अनुसार कुल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

परीक्षा नियन्त्रक पौडेलले परीक्षार्थीले कम्तीमा सैद्धान्तिक विषयमा ३५ अङ्क र प्रयोगात्मकमा ४० अङ्क ल्याउनैपर्ने बताउँदै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनैपर्ने जानकारी दिए ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।

आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन् ।

प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार दुई सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थीले एसइई दिने प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार बागलुङबाट चार हजार तीन सय ९९, पवर्तबाट दुई हजार २८, म्याग्दीबाट एक हजार नौ सय ३८, मुस्ताङबाट एक सय ८८ र स्याङ्जाबाट चार हजार एक सय २४ विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

यसैगरी गोरखाका तीन हजार छ सय ६२, लमजुङका दुई हजार छ सय ७९, तनहुँका पाँच हजार चार सय ६२ र नवलपुरका छ हजार एक सय ६५ परीक्षार्थी सहभागी रहेका निर्देशनालयका अधिकृत खेमराज पौडेलले जानकारी दिए । उनका अनुसार परीक्षा सञ्चालनका लागि दुई सय १४ परीक्षा केन्द्र कायम गरिएको छ ।

प्रदेशभरबाट सामुदायिक र संस्थागत गरी कुल एक हजार तीन सय ३२ विद्यालयका विद्यार्थी एसइईमा सहभागी भएका पौडेलले जानकारी दिए । उनका अनुसार कुल परीक्षार्थीमध्ये नियमिततर्फका ३९ हजार ४२, प्राविधिक धारका एक हजार तीन सय ९० र ग्रेडवृद्धितर्फका चार सय ८६ रहेका छन् ।

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन दुई सय १४ केन्द्राध्यक्ष, तीन सय ७२ सहायक केन्द्राध्यक्ष, दुई हजार एक सय ४४ निरीक्षक, पाँच सय १८ परीक्षा सहायकसहित कार्यालय सहयोगी र सुरक्षाकर्मी परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।

यसैगरी दैलेखको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारको परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाका नक्कली परीक्षार्थी फेला परेका छन् ।

गैडाबाज माध्यमिक विद्यालय काडाँसिरौलाका नियमित परीक्षार्थी भाइको सट्टामा परीक्षा दिन परीक्षा केन्द्रमा पुगेका दाइ नक्कली परीक्षार्थीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दैलेखमा पठाएको केन्द्राध्यक्ष निरक तारामीले जानकारी दिए ।

उनले भाइको सट्टामा अनिवार्य अंग्रेजी विषयको परीक्षा दिन आएका उनको प्रवेशपत्रमा हस्ताक्षर र छाप फरक भएको भेटिएपछि परीक्षा सुरु भएको १५ मिनेटमै परीक्षाबाट निष्काशन गरी कारबाहीका लागि प्रहरीको जिम्मा लगाएको बताए ।

उनले भने, ‘भाइको लागि नक्कली परीक्षार्थी बनेका आरोपित बालक सदरमुकामको त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् । शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका निमित्त प्रमुख रतन विष्टले मुलुकी अपराध संंहिता २०७४ र राष्ट्रिय परीक्षा बोर्ड नियमावलीअनुसार अरू कसैको नाममा परीक्षा दिएको पाइएमा परीक्षार्थीलाई दुई वर्षसम्म त्यो तहको परीक्षा दिन नपाउने दुई वर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था रहेको जानकारी दिए ।