जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जो रुसी सेनाबाट भागेर स्वदेश पुगे, भन्छन्– १० साथी युद्धभूमिमै ढले

जन्मभुमि खबर ,
पोखरा ।

रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन् । रुसी सेनाबाट भागेर उनी शुनी भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन् ।

“पछिल्लो तीन महिनादेखि तलब पाइएन । खाना नपाएर साह्रै गाह्रो भयो । रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे,” उनले भने, “त्यसपछि भागेर आएको हिँडे ।”

उनी रुस–युक्रेन युद्धमा अग्रमोर्चामा खटिएका थिए । उनी अन्य १० जना साथीसँगै गत भदौ १ ‘भिजिट भिसा’मा रुस गएर सेनामा भर्ती भएका थिए । परिवारका जेठा छोरा उनी ऋण तिर्न पैसा कमाउन अर्को ऋण काढेर रुसी सेनामा पुगेका थिए । तर, घर फर्किंदा रित्तो हात हुनुपरेको छ ।

“घरमा ३० लाख रुपैयाँ ऋण थियो । बुबाले कमाएर तिर्न सक्ने अवस्था थिएन । स्वदेशमा पाइने २०/३० हजारको जागिरले ब्याज तिर्न पनि सकिँदैनथ्यो,” उनले भने, “परिवारको बाध्यताले युद्धको भुमरीमा हाम फालेँ तर सोचेकोजस्तो भएन ।”

सुरुआतमा रुसी सरकारले तलब दिए पनि पछिल्लो तीन महिनामा तलब पनि नदिएको र भोकभोकै काम गर्न नसकिने अवस्था आएपछि भागेर स्वदेश फिर्ता भएको उनको भनाइ छ ।

उनका अनुसार घर धितो राखेर सात लाख ५० हजार रुपैयाँ ऋण निकालेर रुस हानिएका हुन् । सँगै रुस गएका अन्य १० साथी युद्धभूमिमै ढलेको उनी बताउँछन् ।

“त्यहाँको अवस्था देख्दा बाँचिएला सोचेकै थिएन । सँगैका सबै साथी मरे । डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ,” उनी भन्छन्, “दैनिक ५०/६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे ।”

मासिक अढाइ लाखदेखि पाँच लाखसम्म आम्दानीलगायत प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको उनको भनाइ छ । केही महिनाको सैन्य तालिमपछि युद्धका लागि परिचालन गरिएको उनले बताए ।

युद्ध लडिरहेको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै स्वदेश पुगेका हुन् । मस्कोमा एक दलाललाई दुई लाख ५० हजार बुझाएर घर पुग्न सफल भएको उनी बताउँछन् ।

“तीनजना भागेर मस्को पुगेका थियौँ । सँगै दिल्लीको टिकट काटिएको थियो,” सिंह भन्छन्, “तर विमानमा दिल्ली आउँदा एक्लै थिएँ । पछि बुझ्दा एक जनालाई अध्यागमले समातेको रहेछ ।”

रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था दयनीय रहेको उनको भनाइ छ ।