जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चराका कारण पोखरा विमानस्थलमा उडान प्रभावित ( भिडियो सहित )

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बेलाबखत चराका कारण उडान/अवतरणमा समस्या देखिँदै आएको छ । उक्त समस्या पुनः आइतबार बिहान पनि दोहोरिएको छ ।

बिहानदेखि चराका हुल विमानस्थल परिपरि रहेका कारण कुनै पनि उडान अवतरण हुन सकेका छैनन् । चराकै कारण बिहान ११ बजेसम्म पनि रनवे खुल्न सकेको छैन । यसका कारण हवाई उडान प्रभावित भएको छ । चराहरूलाई हटाउन अहिले विमानस्थलमा रहेका सम्पूर्ण स्रोत साधन प्रयोग गरिएको विमानस्थल प्रमुख जसोदा रेग्मीले बताइन् ।

“पानी परेर दुई दिन पोखरामा मौसम ओसिलो बनेको छ । जसले गर्दा विमानस्थल आसपासमा साना–साना किरा फट्यांग्राहरूको गतिविधि धेरै बढेको छ । त्यसले गर्दा विमानस्थलमा बिहानदेखि नै चराहरू देखा परेका छन्, अहिले उडान अवतरण हुन सकेको छैन,” उनले भनिन्, “त्यसले गर्दा पोखरा विमानस्थमला विमानस्थलको रनवे क्लोज गरिएको छ । रनवे क्लोज हुँदा कुनै पनि उडान/अवतरण हुन सकेको छैन ।”

काठमाडौंबाट पोखरा गएको यतीको एक वटा र बुद्धको दुई वटा विमान काठमाडौं नै डाइभर्ट गरिएको छ । यतीको उडान नम्बर ६७३, बुद्धको उडान नम्बर ६०५ र ६५१ डाइभर्ट गरिएको हो । करिब एक घण्टा होल्ड गरेपछि विमान डाइभर्ट गरिएको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए । चरा धपाउन सबै इक्युप्मेन्ट प्रयोग

विमानस्थलमा बिहान ८ बजेपछि चराको गतिविधि बढेको थियो । त्यसपछि सबै स्रोतसाधन प्रयोग गर्दा पनि चराको गतिविधि रोक्न नसकेपछि रनवे नै बन्द गर्न गरेको थियो ।

चरा धपाउन विमानस्थलमा उपलब्ध सम्पूर्ण इक्युप्मेन्ट प्रयोग गरिएको छ । किरा फट्याङ्ग्रा हटाउन रनवे नै पानीले पखाल्नेर सफा गरिएको छ । विमानस्थल व्यवस्थापन शाखाले चरा धपाउन प्रयोग गरिने भेहिकलमा चरा तर्साउन साइरन बजाइएको छ ।

“ग्राउन्डमा पनि अटो साइरण राखिएको छ । जुन ठाउँमा चरा हुन्छ, त्यहाँ त्यो रिमोट पट्काइन्छ । विमानस्थलमा चरा धपाउनका लागि सिकारीहरू पनि छन्,” प्रमुख रेग्मीले भनिन्, “अहिले कम भइरहेको र चराको गतिविधि बन्द भएपछि उडान नियमित हुन्छ । ”

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :