जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

शव गाडिएको अवस्थामा फेला परेकी युवतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीरमा मृत फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै तारेभीर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्माको हत्या आरोपमा उनकै छिमेकी २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको हो ।

बूढानीलकण्ठ उच्च माविमा कक्षा–१२ मा अध्ययनरत १८ वर्षीया सुष्माको शव प्रहरीले गएको फागुन २४ गते शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभीरमा जंगलमा फेला पारेको थियो ।

घटनाको अनुसन्धानका गर्दा छिमेकी युवकले नै हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले जानकारी दिए ।

पक्राउ परेका लामाले युवतीलाई एकतर्फी मन पराएको र पटक–पटक प्रेम प्रस्ताव गर्दा अस्वीकार गरेपछि हत्या गरेर जंगलमा पुरेको अनुसन्धानबाट खुलेको घिमिरेले बताए ।

अपराधपछि घटना लुकाउन प्रविधिको समेत गलत प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिबाट खाल्डो खन्न प्रयोग गरेको कुटो र उनको कोठाबाट मृतकको मोबाइल र किताबकापी हिमालयन टेली भ्वाइस पनि बरामद गरेको छ ।