जन्मभुमि खबर ,
पोखरा ।
लमजुङको सुन्दरबजार स्थित एक निजि विद्यालयमा अध्ययनरत छात्रामाथि प्रश्नको उत्तर नजानेको भन्दै शिक्षिकाद्धारा निर्घात कुटपिट गरिएको छ ।
सुन्दरबजार नगरपालिका–७ मा रहेको बालज्योती अंग्रेजी माध्यमिक बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययनरत ११ बर्षीया छात्रामाथि सोधेको प्रश्नको उत्तर नदिएको भन्दै हेल्थ शिक्षिका फराना मियाँले निर्घात कुटपिट गरेकी हुन् ।
घाइते बालिकाका अनुसार नियमित दोस्रो क्लासकी शिक्षिका मियाँले २ दिन अघि नै प्रश्नको उत्तर नजानेको भन्दै हातमा पिटेकी थिइन् । सो क्रममा नै सो बालिकाको औलामा रगत जमेको थियो । ‘आइतबार १२ बजेतिर क्लासमा शिक्षिकाले मलाई ५ वटा प्रश्न सोध्नुभयो, पहिलो प्रश्न मिलाएपनि दोस्रो प्रश्नको उत्तर नजानेपछि उहाँले बाँसको लौरीले बेस्सरी पिट्नभयो,’ पीडित बालिकाले तगारोन्युजसँग भनिन्, हात दुखेको भनेपछि खुट्टामा पिट्न थाल्नुभो । ‘दुख्यो भन्दा पनि पिट्न छाड्नुभएन ।’
कुटाइका कारण पीडित बालिकाको दुबै खुट्टाका पिँडौला सुन्निएको छ भने, निलडाम स्पष्ट देखिन्छ । पिडित बालिकालाई सुन्दरबजार अस्पतालमा जाँचका क्रममा पिँडौलामा रगत जमेको पाइएको छ । चिकित्सकले घाउमा ड्रेसिङ गर्दै केहि साताका लागि औषधि दिएको घाइते बालिकाकी आमा देउमाया गुरुङले बताइन् ।
‘हामीले विद्यालयमा राम्रा कुरा सिक्न पठाएका हौं, यसरी कुट्न पाइन्छ ? कुटपिट गर्ने शिक्षकमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ,’ देउमायाले भनिन् ।
सुन्दरबजार अस्पतालमा एक्सरे सुविधा नहुँदा आज अन्य अस्पतालमा उपचार गराउने तयारी रहेको समेत उनले बताइन् । वालिकामाथि १२ बजे कुटपिट भएपनि उनलाई स्कुल बन्द हुने समय ४ बजेपछि मात्र स्कुलबाट निस्कन दिएको समेत पाइएको छ ।
यो घटना भएपछि कुटपिट गर्ने शिक्षिका माथि कारबाही हुनुपर्ने आवाज उठ्न थालेको छ । घाइते बालिकाकी परिवार लगाएत स्थानीयले कुट्ने शिक्षिकामाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।
विद्यालयका अध्यक्ष बद्रीमान श्रेष्ठले शिक्षिकाबाट कुटपिट भएको कुरा जानकारी प्राप्त भएको बताए । उनले भने, ‘म काम बिशेषले बाहिर थिए, घट्नाबारे जानकारी पाएको छु । आज विद्यालय समयमै छलफलमा बोलाएको छु । घट्नाबारे म विस्तृत बुझ्छु ।
यस घट्नाबारे इलाका प्रहरी कार्यालय सुन्दरबजारमा मौखिक जानकारी समेत गराइएको छ । प्रहरीले विद्यालयको छलफलको निश्कर्ष आएपछि थप अनुसन्धान गर्ने जनाएको छ ।