जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बागलुङ बस दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो

जन्मभुमि खबर ,
पोखरा ।

‘सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौंका लागि छुट्नुपर्ने बस करिब १ घण्टा ढिला गरी छुट्यो । साँझ ५ बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो । पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्‍यो,’ धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाए ।

उनका अनुसार यात्रु कुर्दा रुकुममै ढिला भएपछि चालकले रानीकोटमा जाम छल्ने भन्दै गाडीको गति बढाएका थिए । ‘रुकुम र बागलुङको सिमाना पातीहाल्ने आइपुग्दा पनि गाडीको गति कम भएको थिएन । गाडी हुइँकिएपछि मैले सिट समातेर आफूलाई सम्हालिरहेको थिएँ’, उनले भने, ‘पातीहाल्नेबाट निसीखोलातर्फ लाग्ने सडक निकै घुमाउरो र ओरालो छ । यात्रुहरूले ओरालोमा अलिक सुस्त चलाउनू भन्दा पनि चालक अटेर गर्दै अघि बढेका थिए । ड्राइभरले घुम्तीमा मोड्न नसक्दा गाडी खस्यो ।’

घाइते दशरथको नाक, मुख र टाउकोमा चोट लागेको छ । उनी अन्य घाइतेहरूसँगै अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । आकस्मिक कक्षमा केही घाइतेहरू पीडाले कराइरहेका छन् भने कोही मलिन अनुहारमा शोक मनाइरहेका छन् । उनीहरूको उपचारमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटिएको छ ।

रुकुम पश्चिम मुसीकोट नगरपालिका- १ का नेपालीले आफू पसलका लागि सामान लिन र त्यही मेसोमा आफन्त भेट गर्न काठमाडौंका लागि गाडी चढेको बताए । उनले गाडी अनियन्त्रित भएपछि केही यात्रुले हामफाल्न खोजे पनि सफल नभएको सुनाए ।

‘केही यात्रु गाडी पल्टिन्छ भन्ने लागेर हाम फाल्ने प्रयास गरेका थिए । तर, गाडी सडकबाट तल खसिहाल्यो’, उनले भने । बस खसेपछिको केही समयसम्म आफूले केही थाहा नपाएको उनले सुनाए । ‘केही बेरपछि होस आउँदा वरिपरि यात्रुका शव र घाइते मात्रै थिए । एकैछिन हातै चलेन । जसोतसो उठेर रुख र ढुङ्गाले च्यापिएका घाइतेलाई निकाल्न सहयोग गरेँ,’ उनले भने ।

उनीसहितका घाइतेलाई प्रहरीले उद्धार गरी बुर्तिबाङमा सामान्य उपचारपछि राति नै बागलुङ ल्याएको थियो । उनका अनुसार गाडीको अघिल्लोपट्टि बसेको धेरैको मृत्यु भएको छ ।

दशरथसँगै आकस्मिक कक्षमा उपचार गराइरहेका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका- १ का हेमराज केसीको टाउको र नाकमा चोट लागेको छ भने बाँया हात राम्रोसँग चलेको छैन । उनी पनि चालकको लापरबाहीले दुर्घटना भएको बताउँछन् ।

‘म गाडीको पछिल्लो सिटमा थिएँ । गाडी अनियन्त्रित भएपछि म हालफाल्न ढोकासम्म पुगेको थिएँ । तर ढोका खोल्न नपाउँदै बस खस्यो’, उनले सुनाए । उनले बस पल्टिएपछि आफूले केही थाहा नपाएको बताए । ‘म होसमा आउँदा शरीर रुखले च्यापिएको थियो । साथीले उद्धार नगरेको भए सायद त्यहीँ मर्थें हुँला,’ उनले भने । उनका अनुसार होसमा आउँदा केही काल्नामा अड्किएका थिए त केही घाइतेहरू चिच्याइरहेका थिए ।

दुर्घटनामा परी घाइते भएकाहरूले धौलागिरी अस्पतालले विपद् व्यवस्थापन टिममार्फत उपचार गराइरहेको छ । सो अस्पतालका सूचना अधिकारी शान्ति भण्डारीले अहिले अस्पतालमा दुर्घटनाका २१ घाइतेको उपचार भइरहेको बताए । उनका अनुसार सात जनालाई भने पोखरा रेफर गरिएको छ । घाइतेमध्येका धेरैको स्वास्थ्यमा सुधार हुँदै गएको उनको भनाइ छ । पोखरा पठाइएका घाइतेहरूको अवस्था भने गम्भीर रहेको भण्डारीले बताए ।

बागमती प्रदेश ०१-००६ ख ३८७९ बस दुर्घटनामा परी मृत्यु हुनेमा दाङका १८ वर्षीय लक्की पुन मगर, रुकुम पश्चिम मुसिकोट-१ का २७ वर्षिया बिनिता केसी, रुकुम पश्चिम मुसिकोट नगरपालिका- २, रातामाटाका सवारीधनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका- ४, सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका- ३, साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवाष गौतम भनिने मानसिंह विक, गोरखा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका- ५, रुमालबाराका २५ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

बस सडकदेखि अन्दाजी १ सय ५० मिटर तल खसेको थियो । सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृत्यु हुने अधिकांश रुकुमका छन् । घटनास्थलमै मृत्यु भएका सात जनाको शव सङ्कलन गरी सोमबार राति नै रुकुम पठाइएको उनको भनाइ छ । दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ । बसमा ३७ जना यात्रु सवार थिए ।