जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा २८ स्थित अर्चलेमा बस दुर्घटना , चालक घाइते

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीमा बस दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । पोखरा २८ स्थित अर्चलेमा बस दुर्घटना भएको हो । ब्रेक फेल भएर अनियन्त्रित हुँदा बस दुर्घटना भएको बताइएको छ ।

लेखनाथ पोखरा रुटमा चल्ने ग १ ख ८६८० नम्बरको बसमा चालक र सहचालक बाहेक अरु यात्रु भने थिएनन् । बस आरुपाटाबाट पोखरा आउदै गरेको थियोे ।

दुर्घटनामा चालक पोखरा–२७ आरुपाटाका ४२ वर्षीय टीकाराम विक र सहचालक पोखरा–१४ चाउथेका ४१ वर्षीय शालिकराम सुवेदी घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । उनीहरु दुवैको अवस्था सामान्य छ ।

चालक टीकारामले ब्रेक फेल भएका कारण बस पल्टिएको बयान दिएका छन् । यता, प्रहरीले प्राविधिकसहित चेकजाँच गर्दा गाडीको ब्रेक ठीक रहेको र चालकले घुम्ती मोड्न नसक्दा पल्टिएको पाइएको जनाएको छ ।

बस माथिल्लो सडकबाट २० मिटर तल खसेको छ । घुमाउरो अनि साँघुरो सडक भएकाले घुम्ती मोड्न चालकले नसकेको प्राविधिकले बताएका छन् । ‘गाडीका दुईपट्टि ढोका खुल्दा चालक र सहचालक भाग्न सफल भएछन् । ढोकाले गाडी ठड्याउन मद्दत गरेको देखिन्छ,’ एसपी थापाले भने, ‘बस दुई बल्ड्याङ खेलेपछि सडकमा ठडिएको रहेछ । गाउँमा ट्राफिक प्रहरी हुँदैनन् । साँघुरो, घुम्ती नै घुम्ती भएको सडकमा चालकले गाडी ओभरस्पिड चलाएपछि दुर्घटना भएको देखिएको छ ।’