जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरालाई आज पर्यटकीय राजधानीका रूपमा घोषणा गरिँदै

जन्मभुमि खबर ,
पोखरा ।

लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ ।

पोखरा महानगरपालिकाले आज औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी पूरा भएको छ । महानगर प्रमुख धनराज आचार्यले २०७५ सालदेखि नै यस विषयमा अध्ययन भइरहेको र पर्यटकीय राजधानी घोषणाका लागि आधारभूत मापदण्ड पोखरासँग भएकाले घोषणा गरेर पोखरालाई अन्तर्राष्ट्रिय जगत्मा ‘ब्राण्ड’ बनाउन लागिएको बताएका छन ।

प्रमुख आचार्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आथित्यतामा सुन्दर फेवातालको किनार बाराहीघाटमा आज बिहान १०:१५ बजे पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको छ ।

लेकसाइडस्थित बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्‍याली र प्राकृत पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा डा मुकुन्दशरण उपाध्याय, भूगोलविद् स्वर्गीय डा हर्क गुरुङ मरणोपरान्त सम्मान, सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व प्रेमप्रकाश मल्ललाई सम्मान गरिने गरिने छ ।

त्यसैगरी वरिष्ठ गायिका प्राज्ञ हरिदेवी कोइराला, कन्दरा ब्याण्ड मुख्य गायक (भोक लिस्ट) विवेक श्रेष्ठ, गायक प्रमोद खरेल, गायक प्रकाश सपुत, पोखरेली गायक धर्मेन्द्र सेवानका साथै गण्डकी प्रज्ञा प्रतिष्ठान÷पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकारको साङ्गीतिक प्रस्तुति रहने छ ।

यसैगरी आज महानगर र मातहतका कार्यालयहरुमा बिदा दिएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले घोषणा कार्यक्रममा सबै पोखरेलीको सक्रिय सहभागिता रहने भएकाले महानगर कार्यालय, वडा कार्यालय, शाखा, महाशाखाहरु बन्द गरिएको जनाएका छन् ।