जन्मभुमि खबर ,
पोखरा ।
पोखराको दोस्रो ठुलो ताल बेगनासमा आज (आइतबार) देखि ड्रागन बोट रेस फेस्टिभल सुरु भएको छ । नेपाल ड्रागन बोट संघ गण्डकी प्रदेश, पोखरा महानगरपालिका र होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथको संयुक्त आयोजनामा दुई दिने फेस्टिभल सुरु भएको हो । प्रतियोगितामा १४ टिमको सहभागिता छ ।
महोत्सवको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गरेका छन् । उनले खेलकुद क्षेत्र कूटनीतिक सम्बन्ध विस्तारको माध्यम बन्दै गएको भन्दै नेपालले यसको उपयोग गर्न सक्नुपर्ने बताए । खेल क्षेत्रलाई पर्यटनसँग जोड्दै विकासको माध्यम बनाउनुपर्ने उनको तर्क छ ।
चीनबाट सुरु भएको ड्रागन बोट रेस दक्षिण एसियामा अघिल्लो वर्षदेखि छिरेको छ । अघिल्लो वर्ष पोखराको फेवातालमा नेपाल र चीनका खेलाडीबिच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताकै लागि १ सय २० सदस्यीय टोली चीनबाट पोखरा आएको थियो । प्रत्येक टिममा १२ जना खेलाडी सहभागी हुन्छन् ।
यसपालि १४ टिमबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ५ सय र २ सय मिटर गरी दुई स्पर्धा हुनेछ । आइतबार २ सय मिटर तर्फको प्रतिस्पर्धा सकिएको छ । नारा पोखरा उक्त इभेण्टमा पहिलो हुँदै एक लाख नगद जितेको छ । वाटर स्पोर्टस् एसोसियसनले दोस्रो बनेर ५० हजार पाएको छ भने हर्पन मत्स्य समूह तेस्रो हुँदै २५ हजार पायो ।
सोमबार हुने पाँच सय मिटरतर्फको प्रतिस्पर्धामा प्रथम हुनेले २ लाख, दोस्रोले १ लाख ५० हजार र तेस्रोले ७५ हजार नगद पाउने छन् ।