जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीमा स्वास्थ्य तालिमको सातवर्षे रणनीति कार्यान्वयनमा

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशमा स्वास्थ्यसम्बन्धी तालिमलाई व्यवस्थित गर्न पहिलोपटक ‘स्वास्थ्य तालिम रणनीति’ बनाइएको छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य तालिम केन्द्रले विसं २०८०-२०८७ सम्मका लागि बनाएको उक्त रणनीति गत फागुन २३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भई लागू भएको छ ।

स्वास्थ्य जनशक्तिको कार्यदक्षता अभिवृद्धि, नयाँ कार्यक्रमका बारेमा थप ज्ञान, सीप प्रदान गर्न योजनाबद्ध मार्गदर्शन प्रदान गर्ने उद्देश्यले रणनीति तयार गरिएको तालिम केन्द्रका निमित्त महानिर्देशक रमेशप्रसाद अधिकारीले बताए ।

रणनीतिले सरकारी बाहेकका निजी स्वास्थ्य संस्था तथा अस्पतालका स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम प्रदान गर्ने योजना रहेको अधिकारीले बताए । यसको कार्यान्वयनपछि तालिममा एकद्वार प्रणालीको विकास हुने भएकाले दोहोरोपन घट्ने, मितव्ययी हुने, संस्थागत अनुपस्थिति दर घटाउने तथा अभिलेखीकरणको त्रृटि न्यून हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

सङ्घीय, प्रादेशिक तथा स्थानीय तहका विभिन्न निकायका प्रमुख, विकास साझेदार, गैरसरकारी संस्था निजी क्षेत्र तथा प्राज्ञहरुलगायत सबै सरोकारवालासँगको अन्तरक्रिया, छलफल र आवश्यक परामर्शसहित रणनीतिक योजना तयार पारिएकाले सबै तहका स्वास्थ्य तालिमसम्बन्धी मुद्दाहरूको सम्बोधन गरिने महानिर्देशक अधिकारीले जानकारी दिए।

स्वास्थ्यसम्बन्धी तालिमको आवश्यकता पहिचान र निर्धारण तथा यसका लागि संस्थागत र संयन्त्रगत व्यवस्था र कार्यान्वयन, तालिम पाठ्यक्रम र पाठ्यसामग्री विकास तथा परिमार्जन, तालिमहरुको अनुगमन, मूल्यांकन, क्षेत्र, विषय, विधि र अवधिअनुरूप तालिम विकास, आवश्यक प्रशिक्षक उत्पादन, प्रशिक्षार्थी छनोटलगायतलाई रणनीतिमा समेटिएका छन् ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बढ्दो स्वास्थ्य तालिम तथा क्षमता अभिवृद्धिको आवश्यकतालाई सम्बोधन गरी गुणस्तरीय तालिममार्फत स्वास्थ्यमा नागरिकका पहुँच वृद्धि गर्न सघाउ पुग्ने बताए ।