गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन, मनाङेलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा
जन्मभुमि खबर ,
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
सोमबार मुख्यमन्त्री पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) लाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङे चौथोपटक गण्डकीको मन्त्री बनेका हुन् । यसअघि आइतबार मात्रै मनाङेले आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न प्रदेशसभा सचिवालयमा निवेदन दिएका थिए ।
नवनियुक्त मन्त्री मनाङेको शपथ साढे ३ बजे प्रदेश प्रमुखको निवासमा हुने तय भएको छ । यसअघि उनी एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुईपटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एकपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए । भौतिक पूर्वाधारमन्त्री माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली र समाजिक विकास मन्त्री सुशीला सिम्खडा थिइन् ।
यस्तै, मुख्यमन्त्री पाण्डेले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्व जिसीलाई दिएका छन् । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्रीमा सुशीला सिम्खडा मन्त्री रहेका थिए ।
= सुरेन्द्रराज पाण्डे, मुख्यमन्त्री
= महेन्द्र ध्वज जिसी—कृषि तथा भूमि व्यवस्था तथा सामाजिक विकास मन्त्री
= सरस्वती अर्याल, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री
= राजीव गुरुङ उर्फ दीपक मनाङ— भौतिक पूर्वाधार विकास मन्त्री
= जीतप्रकाश आले, आर्थिक मामिला मन्त्री
= दीपेन्द्रबहादुर थापा, उद्योग, पर्यटन र वन मन्त्री