जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा नयाँ घर सरेको राति २२ तोला सुन चोरी

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको अन्नपुर्ण गाउँपालिका–३, काँडे, वराहथानका पुष्पा गुरुङको घरमा शुक्रबार राति चोरी भएको छ । चोरले २२ तोला सुनका विभिन्न गरगहना, ५० हजार नगदसहित विभिन्न सामान चोरी गरी लगेको पीडित गुरुङका भाइ कुलबहादुर गुरुङ ‘कुलु’ ले बताए ।

ढोका फोडेर घरभित्र छिरेको चोरले ३ वटा दराज तथा १ बाकसमा क्षति पुर्‍याएर लुटपाट गरेको हो । चोरले क्यामेरा, टेलिभिजन सेट, नयाँ लत्ताकपडा समेत चोरेको छ ।

रातभर पानी परेको तथा नयाँ घरमा बसाइँ सरेको मौका छोपी चोरले पुरानो घर फोडेको उनले जनाए ।

घरधनी पुष्पाले आफू बिरामी भएसँगै यसै वर्षको शिवरात्रिमा पुरानो घरमा झाँकी बोलाइ हेराएकी थिइन् । झाँक्रीले पुरानो घरमा नबस्नू, फापेको छैन भनेपछि उनीको परिवार नजिकै घर पक्की घर बनाएर बसाइँ सरेका थिए ।
पीडितले भदौरे तामागी प्रहरी चौकी र वडा प्रहरी कार्यालय बगरमा उजुरी दिएको र चोरीबारे प्रारम्भिक अनुसन्धान भइरहेको कास्की प्रहरीले बताएको छ ।