जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव फेला

जन्मभुमि खबर ,
पोखरा ।

पाल्पाको रिब्दीकोट गाउँपालिका- १ ख्याहामा एक युवतीको शव फेला परेको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको हो ।

मंगलबार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारीलो हतियारले शरीका विभिन्न स्थानहरूमा प्रहार गरेर हत्या गरेको अवस्थामा भेटीएको स्थानीयले बताएका छन् । मृतक १९ वर्षीया पद्मा दल बहादुर र कमला सुनारकी छोरी रहेको रिब्दीकोट गाउँपालिका- १ ख्याहाका वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए । उनका अनुसार उनी शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

दिउँसो ४ बजे घर नजिकै रहेको पँधेरामा नुहाउन गएकी उनी अबेर साँझसम्म नफर्किएपछि खोजी गर्ने क्रममा विभत्स तरिकाले हत्या गरेर फालेको अवस्थामा शव भेटिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए ।

पाल्पाका प्रहरी उपरिक्षक नरेन्द्र चन्दले घटना साँझपख भएकोले प्रहरीले घटनास्थलको सुरक्षा दिएर राखेको र बिहानबाट अनुसन्धान सुरू गरिएको बताए । एसपी चन्दका अनुसार अनुसन्धानको लागि भैरहवाबाट कुकुर घटनास्थल पुगिसकेको छ ।

‘प्रहरीलाई साँझ ६ बजेतिर मात्र खबर भएको र घटनास्थलमा पुगेर अनुसन्धान सुरू गर्दा राति भइसकेकोले शवसमेत नउठाइ सुरक्षा दिएर राखिएको छ,’ चन्दले भने, ‘अहिले बिहानैदेखि अनुसन्धान अगाडि बढाइएको छ ।’