जन्मभुमि खबर ,
पोखरा ।
धरानबाट भोजपुरतर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
जीपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
धरानबाट भोजपुरको जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो गाडी उदयपुरको मैनामैनी भन्ने ठाउँमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार बोलेरो भिरबाट करिब २०० मिटर तल खसेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी चालकसहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ बालक, ३ महिला र २ पुरुष रहेका छन् ।
मृत्यु हुनेमा हतुवागढी गाउँपालिका-२ दितेनीका चन्द्र प्रकाश राई, पर्वतमाया राई, दिशान राई, हतुवागढी गाउँपालिका-५ का रामकुमारी राई, किसन राई, बराहक्षेत्र ३ का पदमबहादुर थापा, इटहरी घर भएकी कमला अधिकारी र चालक हतुवागढी गाउँपालिकाकै मानबहादुर बस्नेत रहेका छन्।
गाडीमा सवार अन्य ९ जनाको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। गम्भीर घाइते भएका हतुवागढी गाउँपालिका-२ का किसन राईको उपचारका अस्पताल पुर्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदिपराज पाठकले बताए।
गाडीमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।