जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आज अन्तर्राष्ट्रिय महिला दिवस

जन्मभुमि खबर ,
पोखरा ।

आज मार्च ८, ११४औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ ।

सन् १९११ मार्च ८ का दिन नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले महिला कामदारमाथिको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको सम्झनामा महिला दिवस मनाउन थालिएको हो ।

अमेरिकाको सोललिस्ट पार्टीले सन् १९०९को फेब्रुअरी २८ मा महिला दिवस मनाएको थियो । युरोपका केही देशहरूले सन् १९११ मा मार्च १९ का दिन महिला दिवस मनाए । सन् १९१३ देखि मात्रै मार्च ८ कै दिन विश्वव्यापी रूपमा मनाउन थालिएको हो ।

महिला दिवसमा संसारभरका महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिको स्मरण तथा विश्लेषण गरिन्छ । महिला दिवसको मुख्य उद्देश्य सशक्तीकरण र लैंगिक असमानता हटाउनु हो ।