जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको २१ बुँदे निर्देशन

जन्मभुमि खबर ,
पोखरा ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ ।

यही चैत ७ गतेको मन्त्रीस्तरीय निर्णयानुसार मन्त्रालयले आज ‘शान्तिसुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी नागरिकप्रतिको भरोसा अभिवृद्धि गर्न भन्दै’ २१ बुँदे निर्देशन जारी गरेको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकले तत्काल अनुभूत गर्ने गरी स्थानीय प्रशासनको काम-कारबाहीमा सुधार ल्याउन निर्देशन गरेअनुसार मन्त्रालयले निर्देशन जारी गरेको लामिछानेको सचिवालयले जनाएको छ ।

निर्देशनमा शान्तिसुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण तथा राजस्व चुहावट नियन्त्रणको विषय समेटिएका छन् ।

यस्तै प्रभावकारी सेवा प्रवाह, गुनासो व्यवस्थापन, कर्मचारी आचरण र अनुशासन, सरकारी तथा सार्वजनिक सम्पत्तिको संरक्षण, विकास निर्माणका काममा समन्वय र सहजीकरणलगायत विषय पनि निर्देशनमा समेटिएका छन् ।

उपप्रधानमन्त्री लामिछानेले मन्त्रालयको निर्देशन कार्यान्वयन भए/नभएको मूल्यांकन गर्न उच्च अधिकारीलाई आग्रह गरेका छन् । उनले देखिने गरी सेवा प्रवाह गर्न, लोभमा नफस्न र कुनै पनि प्रभावबाट प्रभावित नहुन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।