जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रमेश खरेलले रास्वपाबाट दिए राजीनामा 

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेलले पार्टी त्यागेका छन् । स्वार्थ बाझिएको भन्दै पार्टी सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले आलोचना गरेका थिए । सोही प्रकरणमा रास्वपाले उनीसँग स्पष्टीकरण सोधेको थियो । पार्टीले स्पष्टीकरण सोधेपछि उनले बुधबार पार्टीबाटै राजीनामा बुझाएका हुन् । रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले खरेलले बुधबार राजीनामा बुझाएको जानकारी दिए ।

केहीदिनअघि एक टेलिभिजन कार्यक्रममा खरेलले रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे टिप्पणी गरेका थिए।

त्यसपछि रास्वपाले उनीसँग स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरण नदिइ  पार्टी नै त्यागेका हुन् ।

सोही टिप्पणीका कारण रास्वपाले खरेललाई स्पष्टिकरण सोधेपछि खरेलले रास्वपासँगको आवद्धता त्याग गरेका हुन्। उनले पार्टी केन्द्रीय कार्यालयका नाममा पत्र अंग्रेजी भाषामा लेखिएको पत्र पठाउँदै पार्टीबाट आफ्नो बाटो अलग गरेको जनाएका छन्।

उनले लेखेका छन्,‘सचेत रुपमा विचार र समीक्षा गरेपछि म यो निर्णयमा पुगेँ कि मैले पार्टीबाट अब आफ्नो बाटो अलग गर्नुपर्छ।’ खरेलले आफूलाई रास्वपाले उपलब्ध गराएको अवसर र अनुभवप्रति आभार प्रकट गरेका छन्। उनले अगाडि लेखेका छन्, ‘यद्यपि, पछिल्लो विकासक्रम तथा मेरो व्यक्तिगत आस्था र प्राथमिकतामा आएको परिवर्तनले गर्दा पार्टीको सिद्धान्त र लक्ष्यसँग तादाम्यता मिल्न सकेन।’

पछिल्लो समय बारामा भएको उपनिर्वाचनमा रास्वपाबाट खरेल उम्मेदवार थिए। त्यसपछि रास्वपाले उनलाई केन्द्रीय सदस्य अफर गर्दा इन्कार गरेको बताइन्छ।

त्यसपछि एउटा नीजि टेलिभिजनमा उनी ‘जनता जनार्दन’ नामक कार्यक्रम चलाउँदै आएका थिए। सोही कार्यक्रमको पछिल्लो एपिसोडमा गृहमन्त्री लामिछानेमापथि खरेलले प्रश्न तेस्र्याउँदै आलोचना गरेका छन्।

‘प्रश्न त तपाईंमाथि पनि छन् नि गृहमन्त्रीज्यू। सहकारी ठगीको जुन आरोप छ, त्यसको जवाफ त तपाईंले नै दिने हो,’ सोही क्रममा खरेलले भनेका थिए,‘आफूमाथि उजुरी हुँदाहुँदै गृहमन्त्री बन्ने अनैतिक कार्य त तपाईंबाट पनि भएकै हो। जुन मन्त्रालयको नेतृत्वमा अनुसन्धान हुनुपर्ने हो त्यही मन्त्रालयको कुर्सीमा आसिन हुन मिल्दो कुरा पक्कै थिएन। भइहाल्नुभयो, कुरा अर्कै भयो। जुन दिन तपाईं अनुसन्धानको पवित्र अग्निमा आफैं होमिएर शुद्ध भएर निस्किनुहुन्छ, त्यसपछि तपाईंले गर्नुभएका यस्ता कर्मलाई स्यावास भनौंला । तर, गृहमन्त्रीको कुर्सीमा रहेर होइन, बाहिर रहेर।’

आफ्नै पार्टीको सदस्य रहेका व्यक्तिले सभापतिको आलोचना गरेपछि रास्वपाले कारबाही गर्ने तयारी स्वरुप खरेललाई स्पष्टिकरण सोधेको थियो। त्यसको जवाफमा उनले पार्टी त्याग गरेको पत्र पठाएका हुन्।

खरेल गत १० वैशाखमा भएको उपनिर्वाचनमा रास्वपाबाट बारा २ मा प्रतिनिधिसभा चुनाव लडेका थिए । तर, उनी तत्कालीन सत्ता गठबन्धन समर्थित जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।

अहिले नयाँ सत्ता गठबन्धन बन्दा लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेपछि त्यसको खरेलले चर्को आलोचना गरेका थिए ।