जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पञ्चकोटमा पाँच हजार ५५५ किलोको महाघन्ट अनावरण

जन्मभुमि खबर ,
पोखरा ।

बागलुङको पञ्चकोटस्थित सर्वसिद्धिधाममा पाँच हजार ५५५ किलोको महाघन्ट अनवरण गरिएको छ। सर्वसिद्धिधाममा आयोजित ब्रह्माण्डीय महायज्ञमा पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उक्त महाघण्ट अनावरण गरी पुजाअर्चना गरेका हुन्।

धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास भएको पञ्चकोटमा बुधबारदेखि सुरु भएको महायज्ञको गण्डकी प्रदेशका १०८ कन्याले शुभारम्भ गरेका थिए। अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को अगुवाईमा महायज्ञ फागुन २३ गतेसम्म १५ दिन सञ्चालन हुनेछ।

महायज्ञमा २१ हजार ५५५ क्विन्टल धान्याचल समेत गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक स्वामी कमलयनाचार्यले जानकारी दिए। उनका अनुसार अहिलेसम्म नेपालमा नभएको ब्रह्माण्डीय महायज्ञ बागलुङमा पहिलोपटक हुन लागेको हो।

‘अहिले सम्मको जानकारी अनुसार यस्तो ब्रह्माण्डीय महायज्ञ नेपालमा पहिलो पटक सुरु भएको छ,’ कमलनयनाचार्यले भने, ‘हजारौं वर्ष पहिले कहिले भएको भए नेपालमा भयो, तर त्यो कतै इतिहासमा छैन्, महायज्ञको अध्यक्ष भगवान मुक्तिनाथ, संरक्षक भगवान पशुपतिनाथ, आह्वानकर्ता भगवान बुद्ध र स्वागतकर्ता गण्डकी नदी कृष्णगण्डकी र शुक्लागण्डकी दिदी बहिनी रहनेछन् । यो एउटा अद्भुत संयोग रहनेछ ।’

विश्वशान्ति कलश निर्माण गरिने
बागलुङ नगरपालिका—६ स्थीत पञ्चकोटको एकीकृत विकासको काम सुरु भएपछि यो ठाउँ जिल्लाकै पर्यटकीय एवं धार्मिक गन्तव्यको रुपमा विकास हुन थालेको छ। २०७१ सालमा महायज्ञ संचालन गरेर विश्वशान्ति कलश निर्माणको काम शिलन्यास भए पनि काम पूरा हुन सकेको छैन।

१०८ फिट अग्लो कलशमा करिब एक हजार पाँच सय व्यक्तिहरु अटाउने गरी कलस निर्माणको काम अगाडी बढेको छ। कलश निर्माणका लागि ४० फिट जमिनमुनीबाट फाउण्डेसन तयार पार्ने काम भइसकेको कमलनयनाचार्यले बताए। ‘४० फिट तलबाट कलसका लागि फाउण्डेसनको काम भैसकेर एक तला ढलान भैसकेको छ,’ उनले भने, ‘नेपालमै पहिलोपटक कालीगण्डकीको तटबाट विश्वशान्तिको सन्देश प्रवाह गर्नेगरी काम गर्दैछौं।’

पञ्चकोटमा अहिलेसम्म ५० करोड बढिको पूर्वाधार तयार भैसकेका छन्। २०७१ सालमा सञ्चालन गरिएको पहिलो महायज्ञबाट उठेको रकमबाट सुरु गरिएको पञ्चकोट निर्माणको कामले अहिले एउटा स्वरुप धारण गरेको छ। यहाँ शीश महल, सत्सङ्ग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पञ्चनारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, गरुडशिला लगायतका संरचनाहरु निर्माण भइसकेको छ।

साथै गरुडनारायणको मन्दिर, हनुमानको मूर्ति स्थापना, सडक पूर्वाधारको सुधार तथा निर्माण, खानेपानीको व्यवस्थापन लगायतका कामहरु पनि सम्पन्न भइसकेका छन। ठूलो भौतिक र धार्मिक संरचनाहरु ताराजालकोट रहेको ठाउँमा निर्माण भइरहेका छन्।

पाँच वटा कोटहरुको एकीकृत विकासको रुप ‘पञ्चकोट’

पञ्चकोट विभीन्न पाँच वटा कोटहरुको एकीकृत विकासको रुप हो। यस क्षेत्रमा रहेका ताराजालकोट, कारिकोट, माझकोट, रायँरायँकोट र संसारकोटलाई प्रतिकात्मक रुपमा एकै ठाउँमा विकास गरेर पञ्चकोट नामकरण गरिएको स्वामी ऋषि प्रपन्नार्यको भनाइ छ।

‘पाँचै वटा कोटहरुमा जान सहज छैन, संसारकोट निकै टाढा पनि पर्ने भएकाले त्यहाँ सजिलै पुग्न सकिँदैन,’ उनले भने ‘अहिले संरचनाहरु बन्दै गरेको ठाउँ ताराजालकोटको ठाउँ हो। सबै कोटहरुलाई एकै ठाउँमा विकास गरी पञ्चकोट नामकरण गरिएको हो।’

महायज्ञको पहिलो दिन एनआरएनले पञ्चकोटको पूर्वाधार निर्माणका लागि ११ लाख ११ हजार १११ रुपैयाँ दिने घोषणासमेत गरेको छ। एनआरएनका महासचिव सोम सापकोटाले धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका निम्ती उक्त रकम सहयोगको घोषणा गरिएको बताए।

साझा धामको रुपमा विकास गरिने
धार्मिक हिसाबले यस क्षेत्र मुक्तिक्षेत्र र पुलत्स्य पुलह ऋषिले तपस्या गरेको ठाउँ मानिन्छ। नेपालमा भएका सबै गोत्रहरुको मूल पुरुषलाई पञ्चकोटमा स्थापना गरिने स्वामी कमलनयनाचार्य बताउँछन्। ‘यो कुनै एक भगवानको धाम होइन।’ पञ्चकोटलाई कुनै धार्मिक स्थल विशेषको विकल्पको रुपमा विकास गरिने छैन सवैको साझा हुनेछ । यसको छुट्टै महिमा र गरिमा स्थापित हुनेछ,’ उनले भने।