जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न सीआईबीको टोली पोखरामा

जन्मभुमि खबर ,
पोखरा ।

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणको विषयमा थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरा आइपुगेको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका संस्थापक अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १५ जना भने अझै फरार छन् ।

ओखलढुंगाको सुनकोसी गाउँपालिका–१ का ४५ वर्षीय जीबी राईसहित थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरूद्ध प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ । तर, उनीहरू अझै पक्राउ परेका छैनन् ।

सहकारी ठगी प्रकरणबारे पोखरा प्रहरीले अनुसन्धान गरेको थियो सो आधारमा १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

उक्त मुद्दा हाल विराचाधीन अवस्थामा छ भने पक्राउ परेकाहरू पुर्पक्षका लागि थुनामा पुगेका छन् । तर, पोखरा प्रहरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि समेत पुरक जाहेरी परेपछि अनुसन्धानका लागि सीआईबीको टोली समेत पोखरा पुगेको हो ।

सीआईबीले प्रहरी निरीक्षकको कमान्डमा प्राविधिक टोली पठाएको स्रोतले बताएको छ । माघ २४ मा जीबी राईका अर्का साझेदार पूर्वडीआईजी छविलाल जोशीको शंखमूलस्थित घरमा प्रहरीले छापा मारेको थियोे ।

त्यो बेला पोखरा प्रहरीले चार वटा डाटा संकलन सर्भर बरामद गरेको थियो । त्यसबारे समेत सीआईबीको टोलीले अनुसन्धान गर्नेछ । सूर्यदर्शन सहकारीका १८ हजार बचतकर्ताको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको खुलेको छ ।