जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यती एयरलाइन्सले भित्र्यायो दुई ‘एटिआर–७२’ विमान

जन्मभुमि खबर ,
पोखरा ।

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमताका दुई  ‘एटिआर–७२–५००’ विमान भित्र्याएको छ । दुवै विमान बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

७२ सिट क्षमताको दुईवटै विमान यतीले बंगलादेशबाट खरीद गरेर ल्याएको हो ।

यतीले एकैपटक दुई विमान थपेको हो । यो सँगै यतीसँग एटीआर–७२ विमानको संख्या सात पुगेको छ । थपिएका दुई जहाजको क्रमशः ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ नेपाली दर्ता नम्बर रहेको छ । एक साताभित्रै विमानले उडान गर्ने जनाइएको छ ।

हाल यती एयरलाइन्सले नेपालको सुगम गन्तव्यहरु पोखरा , काठमाडौँ, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज लगायत पर्वतीय उडानहरु गर्दै आएको छ भने अन्तर्राष्ट्रियतर्फ चार्टर र नन–सेड्युल उडान गरी हवाईसेवा  प्रदान गर्दैआएको छ ।