जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

भजनशराेमणी भक्तराज आचार्यको निधन

जन्मभुमि खबर ,
पोखरा ।

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह ४ बजे आचार्यको अक्सिजनको तह कम भएको थियो । यसपछि, दुई छोराहरु सत्यराज र स्वरुपराज आचार्यले अस्पताल लैजादै गर्दा उनको बाटोमै निधन भएको थियो ।

गायक आचार्य लामो समयदेखि क्यान्सरपीडित थिए । उनका दुई छोरा सत्यराज र स्वरुपराज आचार्य पनि संगीत क्षेत्रमै क्रियाशील छन् । स्वर्गीय आचार्य सुगम संगीत तथा भजनमा पारंगत थिए । उनले भजनशराेमणीकाे उपाधि नै पाएका थिए । १९९९ मा उनकाे जन्म धनकुटामा भएकाे थियाे ।

८१ वर्षको उमेरमा उनको निधन भएको हो । निधन भएका आचार्यको शव भोलि बिहान अन्तिम श्रद्धान्जलीका लागि ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ । त्यसपछि भोलि नै आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।

गायक तथा संगीतकार आचार्यको निधनले नेपाली सांगीतिक क्षेत्रमा अपुरणिय क्षती भएको छ । नेपाली सांगीतिक क्षेत्रका विभिन्न व्यक्तिहरुले सामाजिक संजालबाट उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

गायक तथा संगीतकार आचार्यले नेपाली सांगीतिक क्षेत्रमा थुप्रै चर्चित गीतहरु दिएका छन् । उनका ‘मुटु जलिरहेछ, जति चोट दिन्छौं, जहाँ छन् वुद्धका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बिहान, हजार आँखा’ लगायतका गीतहरु चर्चित छन् ।

गायक आचार्य लामो समयदेखि मुखको क्यान्सरबाट पनि पीडित थिए । उनले ४ सय बढी गीतमा स्वर र संगीत दिएका छन् ।