जन्मभुमि खबर ,
पोखरा ।
जंगली जनावर ‘जरायो’का दुईवटा सिङसहित नेविसंघका नेतासहित ३ जनालाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर–९ घर भएका पृथ्वीनारायण क्याम्पस पोखराका नेविसंघका पूर्व सभापति २८ वर्षीय सलिश ( सतिश ) बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र २९ वर्षका विवेक श्रेष्ठ छन् ।
आरोपितहरुको साथबाट सरकारी कार्यालय, संघसंस्था तथा व्यक्तिको नाम उल्लेख गरिएको २४ थान छाप बरामद गरिएको कास्कीका एसपी मोहन थापाले बताए । पोखरा महानगरपालिका–९ स्थित नयाँ बजारमा सञ्चालित पसल ‘ब्लु स्टार डेकोर’मा छापा मार्दा सो अवैध सामान फेला परेको हो । वडा प्रहरी कार्यालय बैदाम र लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय पोखराबाट खटिएको टोलीले पसलमा छापा मारेको थियो ।
आरोपीहरुविरुद्ध लिखत सम्बन्धी कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरी उपरिक्षक थापाले जानकारी दिए । जरायोको सिङसम्बन्धी अनुसन्धान गर्न उनीहरुलाई डिभिजन वन कार्यालय कास्कीमा पठाउने प्रहरीको तयारी छ ।