जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा ज्यान मार्ने उद्योग मुद्दामा एकजना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान मार्ने उद्योग मुद्दाका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्यूठान घर भइ हाल बाग्लुङ बसपार्क बस्ने २६ वर्षीय सुमन केसी रहेका छन् ।

मंगलबार राति करिब सवा ११ बजेतिर पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कमा झगडा भइरहेको भन्ने सूचनापछि जिल्ला र वडा कार्यालय बगरबाट खटिएको प्रहरीले ७० वर्षीय देव राउत र ६० वर्षीय रुकमणि श्रेष्ठलाई घाइते अवस्थामा फेला पारेको थियो ।

घाइते दुवै जनालाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि साहारा अस्पतालमा पठाएको थियो। उनीहरुलाई केसीले काठको मुडा प्रहार गरी घाइते बनाएका थिए ।

खोजतलास गर्दै जाँदा प्रहरीले बुधबार बिहान २ बजेतिर पोखरा महानगरपालिका–२ नालामुखबाट पक्राउ गरेको हो। पक्राउ परेका केसीविरुद्ध जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा सात दिनको म्याद अनुमति लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।