जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगरपालिकाभित्र अबदेखि ५ तलाभन्दा अग्ला घर बनाउन नपाइने भएको छ । महानगरले भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै १७ मिटरसम्मको मात्रै घर बनाउने नीति ल्याएको हो । यसअघि फेवा किनार क्षेत्रमा साढे २ तला र अन्य क्षेत्रमा साढे ३ तलासम्मको घर बनाउन पाइने नियम थियो । तर उक्त नियम महानगरले समेत कार्यान्वयन गरेको छैन । २०३१ सालमा तत्कालीन अञ्चलाधीस शंकरराज पाठकले पोखराको भूगोल कमजोर रहेको र सबै ठाउँबाट हिमाल देखिनुपर्ने मान्यताका साथ मापदण्ड कायम गरेका थिए ।
त्यसपछि पनि महानगरले विभिन्न समयमा मापदण्ड सच्याउँदै आएको छ । २०७५ सालमा इन्जिनियर भरतराज पहारीको संयोजकत्वमा गठित अध्ययन समितिले भवनको उचाइ मापदण्डमा अंकुश लगाउन नहुने सुझाव दिएको थियो । नयाँ नयाँ मापदण्ड आएपछि बनिसकेका घरको हकमा भने कडाइ गरिएको छैन । न ति घरले कर तिर्छन् न अबैध भनेर भत्काइएका छन् ।
‘अब १७ मिटरसम्मको घरको मात्रै नक्सापास हुन्छ । यो नियमलाई कडाइका साथ कार्यान्वयन गर्ने हो,’ इन्जिनियर सुरेन्द्र पौडेल भन्छन्, ‘त्यो भन्दा माथिको घर बनाउन महानगरको प्राविधिक समितिले निर्णय गर्नुपर्छ । उक्त समितिको निर्णयपछि मात्रै बनाउन पाइन्छ ।’
५ तलासम्मको घर बनाउन पनि फ्लोर एरिया रेसियो (एफएआर) र ग्राउण्ड कभरेज रेसियो (जिसीआर) अनिवार्य पालना गर्नुपर्छ । महानगरले वडागत फरक फरक मापदण्ड तय गरेको छ । सडक, खोला, नदी, विमानस्थल लगायत क्षेत्रको मापदण्ड पनि छुट्टै छ । ‘मापदण्ड पुस्तिका हेरेपछि वडागत सडकको नाम र मापदण्ड लेखिएको छ । क्षेत्रगत मापदण्ड पनि छन्,’ पौडेल भन्छन् । पोखरालाई १० वटा क्षेत्रमा विभाजन गरिएको छ । २०३१ सालपछि पहिलो पटक पोखराले पूर्वाधारको स्पष्ट मापदण्ड तय गरेको उनले सुनाए । मेयर धनराज आचार्यले तत्कालै मापदण्ड राजपत्रमा प्रकाशित हुने र कार्यान्वयनमा जाने बताए ।
सबै घरमा हरियो रङ्ग अनिवार्य
महानगरपालिकाभित्र बन्ने सबै घरले अव हरियो रङ्ग नै लगाउनुपर्ने भएको छ । यसअघि कार्यपालिका बैठकले नै हरियो रंगबारे निर्णय गरेको र सोही निर्णयलाई मापदण्डमा समेटिएको मेयर आचार्यले बताए । ‘ग्रीन सीटी’ अवधारणा अन्तर्गत हरियो रङ्ग पोत्ने कार्यक्रम अघि सारिएको हो । असारको नगरसभाले प्रत्येक घर बनाउँदा २ वटा रुख रोप्नैपर्ने व्यवस्था ल्याएको छ ।
तर उक्त निर्णय कार्यान्वयन भएको छैन । हरियो रङ्ग लगाउने नियम पनि कार्यान्वयन हुनेमा शंका छ । यसअघि स्याङजाको वालिङले गुलावी रङ्ग अनिवार्य गरेको थियो । भवनको बाहिरी भागमा हरियो रङ्ग लगाउन अनिवार्य गरिएको हो ।