जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ग्याङ फाइट छुट्याउँदा ‘सुजन सर’ले पाएको जन्मदिनको सरप्राइज 

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी बोर्डिङ विद्यालयको कक्षा ११ र १२ मा कास्की, घाचोकका सुजन लम्सालले भौतिक विज्ञान पढाउँछन् । गत २७ माघमा सुजन ३८ वर्ष टेक्दै थिए । यो जन्मदिनको अवसरमा उनलाई विद्यार्थीले कक्षाकोठामा दिएको ‘सरप्राइज’ जीवनको सबैभन्दा यादगार बनेको छ ।

कक्षा १२ को ‘डी सेक्सन’का विद्यार्थीले सुजनलाई दिएको सरप्राइज इन्स्टाग्राममा निकै भाइरल छ । यो समाचार तयार पार्दासम्म यो भिडियो ३४ लाख पटक हेरिएको छ । ‘जन्मदिनको धेरै धेरै शुभकामना सुजन सर । हाम्रा लागि उत्कृष्ट दिनु भएकोमा, हाम्रो साथी भएकोमा धन्यवाद । हामीलाई एक ठूलो परिवारजस्तो महसुस गराउनुभएकोमा धन्यवाद,’ भिडियोको क्याप्सनमा लेखिएको छ, ‘हामीले तपाईंबाट यति धेरै सिकेका छौँ, जुन कुनै पनि पाठ्यपुस्तकका पानाले हामीलाई सिकाउन सक्ने भन्दा धेरै छन् । यो शरारत अलिकति बढी हुन सक्छ तर तपाईंको प्रयासले स्पष्ट रूपमा देखाउँछ कि तपाईं हामी प्रत्येकको कति ख्याल गर्नुहुन्छ ।’

के छ भिडियोमा ?

भिडियोमा विद्यार्थीहरूको ग्याङले अर्का विद्यार्थीलाई कुटिरहेको देखिन्छ । त्यत्तिकैमा ढोकाबाट सुजन छिर्छन् । कुटपिट भइरहेको देखेपछि उनी दौडिँदै लडिरहेकाहरूलाई छुट्याउन आउँछन् । विद्यार्थीको ‘हाजिर कापी’ हातमा लिएका सुजनले विद्यार्थीलाई तितरबितर पार्छन् । हुलभित्रबाट एक जना विद्यार्थीले उनलाई गुलाबको फूल भरिएको बुके दिन्छन् । अनि कक्षाभरका विद्यार्थी भन्छन्- ह्याप्पी बर्थडे सुजन सर ।

अगाडि बुके देखेपछि सुजन अक्मकिन्छन् । उनी बुके हातमा लिएर पछाडि फर्कन्छन् । पछाडि फर्किएर पाँच पाइला अघि बढेपछि सुजन रोकिन्छन् । अनि फर्किएर विद्यार्थीहरूलाई अँगालोमा बाँध्छन् । विद्यार्थीमाझ सुजन खुसीले नाच्छन् । केक काट्छन् । एक जना शिक्षकको जन्मदिन यादगार बनाउने गरेर विद्यार्थीले अपनाएको यो शैली धेरैले रुचाएका छन् ।

भिडियो हेरेपछि हामीले सुजनलाई सम्पर्क गर्‍यौँ । उनलाई सोध्यौँ – सरको यो जन्मदिन कस्तो रह्यो ?

उनले नरोकिइ सुनाए- यस्तो जन्मदिन कहिल्यै मनाएको थिइनँ । म असाध्यै इमोसनल बनेँ । आँखाबाट मेरो खुसी छचल्किएको थियो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-३, घाचोक घर भई पोखराको विन्ध्यावासिनी बस्ने सुजनले गण्डकी बोर्डिङमा पढाउन थालेको १३ वर्ष भयो । विगतका जन्मदिनमा पनि विद्यार्थीले एकाधपटक कक्षा कोठामै केक काटिदिएका थिए । तर, यो जन्मदिन यादगार बन्नुको कारण विद्यार्थीको ‘सरप्राइज शैली’ हो ।

सुजन शिक्षकहरूको कोठामा थिए । कक्षामा जाने समय हुनुभन्दा १० मिनेटअघि नै उनलाई बोलाउन एक जना विद्यार्थी पुगे । कक्षामा झगडा भइरहेको भन्ने सुनेपछि सुजन हतारिँदै कक्षातिर दौडिए । ‘पहिला पनि बर्थडेमा विद्यार्थीले शुभकामना दिन्थे । तर, यसपटक विद्यार्थीले जुन स्टोरी क्रिएट गरे त्यसले एकदमै छोयो,’ सुजनले सुनाए, ‘मलाई त विद्यार्थीले भिडियो खिचेको पनि थाहा थिएन ।’

सुजनलाई विद्यार्थीले सरप्राइज दिनुका पनि कारण छन् । सुजन उनीहरूको कक्षा शिक्षक हुन् । उनी कक्षाका हरेक विद्यार्थीका प्रिय शिक्षक पनि हुन् । त्यसमाथि कुनै विद्यार्थीको जन्मदिनमा उनी पनि गाउने-नाच्ने गर्छन् । यही कारण पनि विद्यार्थीले सुजनको जन्मदिनमा उनलाई सरप्राइज दिएका हुन् ।

class12drams नामको इन्स्टाग्राम प्रोफाइल सुजनलाई सरप्राइज दिने विद्यार्थीहरूले चलाउँछन् । यही प्रोफाइलमा सुरुमा भिडियो सार्वजनिक भएको थियो । भाइरल भिडियो सुजनको जन्मदिनभन्दा अघिल्लो दिन २६ माघ, शुक्रबारको हो । आफ्ना प्रिय शिक्षकको जन्मदिनमा शनिबार बिदा परेपछि विद्यार्थीले अघिल्लो दिन नै सरप्राइज दिने योजना बनाएका थिए । भोलिपल्ट सुजनको जन्मदिनमा विद्यार्थीले त्यो भिडियो इन्स्टाग्राममा पोष्ट्याए ।

भिडियोबारे सुरुमा भारतीय मिडिया इन्डिया टुडे र टाइम्स नाउ न्यूजले समाचार प्रकाशन गरेका थिए । त्यसैले यो भिडियोमा भारतका धेरै दर्शक जोडिएका छन् र उनीहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन् ।