जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीको हिउँदे अधिवेशन फागुन १६ देखि

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन फागुन १६ गतेदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद् बैठकले १६ गतेका लागि बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् ।

गण्डकीको बजेट अधिवेशन गएको असोज ११ गते स्थगित भएको थियो । त्यसको पाँच महिनापछि सरकारले विधेयक अधिवेशन भनिने हिउँदे अधिवेशन डाकेको हो ।

गण्डकी मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन १६ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशसभामा अहिले आमसञ्चार विधेयक, बीउबिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक विचाराधीन छन् ।

यसबाहेक सरकारले थप दुईवटा विधेयक तयार गरेको छ । माघ २९ गते बसेको बैठकले दुवै विधेयकलाई संसद्‌मा पेस गर्ने निर्णय गरेको छ ।

प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ ।