जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुचनाको हक प्रभावकारी कार्यान्वयनमा जोड

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय सुचना आयोगद्वारा पोखरामा आयोजित सूचनाको हकसम्बन्धी अन्तरक्रियामा सुचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ ।

कास्की जिल्लास्थित कार्यालयका प्रमुख, सुचना अधिकारी एवं सञ्चारकर्मीबीच भएको अन्तरक्रियामा वक्ताहरूले सुशासन र पारदर्शिताका लागि पनि सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय सुचना आयोगका आयुुक्त रत्नप्रसाद मैनालीले ‘सुचनाको हक : व्यावहारिक प्रयोग’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै कानुनी रुपमा नागरिकले मागेका अवस्थामा सुचना दिनुपर्ने व्यवस्था रहेको बताउँदै सुशासन र पारदर्शिताका लागि पनि यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

परम्परागत रुपमा कटुवाल प्रथाबाट सुचनाको हकको प्रयोग हुन थालेको बताउँदै उहाँले कानुनी रुपमा सन् १७६६ मा स्वीडेनबाट यसको प्रयोग बढेको जानकारी दिए ।

सूचना आयोगका सचिव होमप्रसाद लुइँटेलले ‘सूचनाको हकको कार्यान्वयनमा कानूूनी तथा पुनरावेदनसम्बन्धी व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्दै वैयक्तिक स्वतन्त्रताको सर्वोच्चता स्थापित गर्नका लागि सूचनाको हकको व्यवस्था गरिएको बताउनुभयो । सूचनाको हक प्रभावकारी कार्यान्वयन गर्न सकेमा त्यसले सुशासनसँगै जवाफदेहिता र जिम्मेवारिता बढाउन सहयोग गर्ने बताए ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले सूचना आफैँमा महत्वपूर्ण रहेको बताउँदै यसका माध्यमबाट हाम्रो समाजमा पारदर्शिता र सुशासन कायम गर्न सहयोग पुग्ने बताए ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष यदुुनाथ बञ्जारा, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारी, सूचना आयोगका उपसचिव सुदर्शन ढकाल, दीपक आचार्यलगायतले कानुनी व्यवस्था अनुसार सूचनाको हकलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।