जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीलाई पाँच वर्षमा आत्मनिर्भर बनाउँछौँ : मुख्यमन्त्री पाण्डे

जन्मभुमि खबर ,

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई पाँच वर्षमा आत्मनिर्भर बनाउने बताएका छन् ।  स्याङ्जाको वालिङ उद्योग वाणिज्य सङ्घ र वालिङ नगरपालिकाले आयोजना गरेको आठौँ वालिङ महोत्सवको  उद्घाटन गर्दै उनले प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमध्ये कुनै एक क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए ।

“गण्डकी प्रदेशलाई पाँच वर्षभित्रमा सके दूध, मासु, तरकारी र फलफूल सबैमा आत्मनिर्भर बनाउने गरी अगाडि बढेका छौँ”, मुख्यमन्त्री पाण्डेले भने, “जहाँसम्म हाम्रो लक्ष्य पूरा भएरै छाड्छ । सबै भएन भने पनि कुनै एउटामा आत्मनिर्भर हुन्छौँ ।” प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएर काम अगाडि बढाएकाले निर्धारित लक्ष्य प्राप्त हुनेमा उनले विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री पाण्डेले युवाको बसाइँसराइँ दर घटाउने र प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमा आत्भनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिए । “युवा विदेशिने क्रम विश्वका हरेक देशमा छन् । यो क्रम जहाँतही चलिरहन्छ”, उनले भने, “यो शून्यमा झर्दैन तर यसका सन्दर्भमा युवालाई स्वदेशमै दक्ष बनाएर आकर्षित गर्ने खालका नीति तथा कार्यक्रम ल्याएर कम गर्न सकिन्छ ।”

गण्डकी प्रदेशले ११ वटै जिल्लामा प्राथमिकता र आवश्यकताका आधारमा योजना अगाडि बढाइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवले यहाँका स्थानीय उत्पादनको प्रचारप्रसार, प्रवद्र्धन तथा बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।