जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मुग्लिन–पोखरा १९.५ किलोमिटर सडक कालोपत्रे

जन्मभुमि खबर ,
पोखरा ।

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्रे भएको छ । तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्रे सकिएको हो ।

सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्रे सकिएको जानकारी दिए । त्यसमध्ये ७.२ किमी खण्डमा दुईतर्फी नै कालोपत्रे सकिएको छ ।

उनले भने, “सबैगरी १९.५ किलोमिटर कालोपत्रे भएको छ । कालोपत्रेमध्ये ७.२ किमीमा दुईतर्फी कालोपत्रे सकिएको छ । हाल बरादीदेखि सत्रसय जोड्ने खण्डमा कालोपत्रेको काम भइरहेको छ ।” त्यसपछि बरादीदेखि आँबुखैरेनी गाउँपालिका चोकसम्म दुईतर्फी सडक कालोपत्रेको काम हुने पाण्डेले बताए । उनका अनुसार पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ ।

यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रेको काम अगाडि बढेपछि यात्रामा सहजता आएको स्थानीय बताउँछन् । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल निर्माण हुन लागेको इञ्जिनियर पाण्डेले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि आवश्यक काम भइरहेको छ ।