जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा पत्रकारद्वय त्रिभुवन र अनिलको स्मृतिमा सभा तथा दीप प्रज्वलन

जन्मभुमि खबर ,
पोखरा ।

पोखराका पत्रकारद्धय स्व त्रिभुवन पौडेल र अनिल शाहीको स्मृतिमा आज स्मृतिसभा आयोजना गरिएको छ । साथै साँझ दीप प्रज्वलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश, पत्रकार महासंघ कास्की शाखा र प्रेस सेन्टर गण्डकी प्रदेश समितिले पत्रकार महासंघमा स्मृतिसभा आयोजना गरेका हुन् । गत वर्ष आजकै दिन पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा परी पत्रकार पौडेल र शाहीको निधन भएको थियो ।

पत्रकार पौडेल नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, पत्रकार महासंघ गण्डकीको संस्थापक अध्यक्ष तथा प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष र गण्डकी प्रदेशको इन्चार्ज हुनुहुन्थ्यो । शाही प्रेस सेन्टर नेपाल पोखरा महानगर कमिटीको सदस्य थिए ।

स्मृतिसभामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यति एयरलाइन्स विमान दुर्घटनामा निधन भएका ७२ जनाको स्मरणमा दुर्घटनास्थलमा स्मृति पार्क निर्माण गर्ने महानगरको योजना रहेको बताउनुभयो । उहाँले महानगरले ७२ जनाको नाम सहित स्मृति स्तम्भ निर्माण गरिएको जानकारी दिनुभयो । प्रमुख आचार्यले स्व त्रिभुवन पौडेलसँग नजिक रहेर काम गरेको स्मरण गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले विमान दुर्घटनाको न्यूनीकरणका लागि सहयोग पुग्ने गरी सञ्चारकर्मीले त्यसतर्फ कलम चलाउनुपर्नेमा जोड दिनुभयो । पत्रकार पौडेलको निधन महासंघ केन्द्रले एक कुशल संगठक र समन्वयकर्ता गुमाएको उहाँले उल्लेख गरे ।

स्मृतिसभामा प्रेस स्वतन्त्रता सेनानीद्धय कोमलनाथ बराल, बद्रीविनोद प्रतीक, स्व पौडेलका दाजु उत्तम पौडेल, स्व शाहीका बुबा अशोक शाही, प्रेस सेन्टर गण्डकी प्रदेशका इन्चार्ज दीपक श्रेष्ठ, प्रेस चौतारी गण्डकीका अध्यक्ष इन्द्र पौडेल, प्रेस युनियन गण्डकीका महासचिव प्रकाश ढकाल, समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष श्रीराम सिग्देल, पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा, महासचिव गोविन्द सुवेदी , कास्की शाखाका अध्यक्ष विमला भण्डारी लगायतले होनहार दुई जना सञ्चारकर्मीको अकल्पनीय निधनबाट पोखराको पत्रकारिताले ठूलो क्षति बेर्होनु परेको बताएका थिए थियो ।

यसैगरी स्व पत्रकारद्धयको स्मृतिमा सहिद पार्कमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । प्रेस सेन्टर कास्की र पोखरा महानगर समितिको आयोजनामा भएको कार्यक्रममा नेकपा(माओवादी केन्द्रका) केन्द्रीय सदस्य राजकाजी गुरुङ, पोखरा महानगरका अध्यक्ष हरिनारायण गिरी, माओवादीका प्रदेश सचिवालय सदस्य विश्वप्रकाश लामिछाने, प्रेस सेन्टरका केन्द्रीय सचिव माधव पनेरु, पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, कास्की शाखाका अध्यक्ष विमला भण्डारी तथा स्व पौडेल र शाहीका परिवारजन तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी र पोखरा महानगरका अध्यक्ष शिवराज वस्ताकोटीले स्व पौडेल र शाहीको योगदानलाई सदा स्मरणीय बनाउने र उनीहरुका सपना पूरा गर्ने प्रतिवद्धता जनाए ।