जन्मभुमि खबर ,
पोखरा ।
करिब १२ लाख स्मार्ट लाइसेन्स कार्डको ठेक्का पाएको जर्मन कम्पनीले बुधबार कार्ड पठाएको छ । जर्मन कम्पनी म्युहलबाअरले पहिलो चरणमा पठाएको ६ लाख कार्ड भोलि नै नेपाल आइपुग्ने छ । बाँकी ६ लाख कार्ड म्युहलबाअरले अर्काे चरणमा पठाउने छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बिहीबार कार्ड आइपुग्ने र परिक्षण गरी माघ १ गतेदेखि छपाइ सुरु हुने बताएका हुन् ।
उनले भने, “जर्मनीबाट आज कार्ड पठाइसकेको छ । हवाई कार्गो भएका कारण भोलि नै आइपुग्छ । एक साताभित्रै परीक्षण गरेर माघ एक गतेदेखि छाप्न सुरु गर्छाैं ।”
दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने गरी तयारी भइरहेको उनले बताए ।
दैनिक १० हजार वटा स्मार्ट लाइसेन्स कार्ड छापिएमा यस वर्ष (२०८०) भित्रै छाप्न बाँकी सबै कार्ड छापिसक्ने बताएका छन् ।
हाल १२ लाखभन्दा बढी सेवाग्राहीको स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको विभागले जनाएको छ । विभागले ३४ लाखभन्दा बढी स्मार्ट लाइसेन्स सेवाग्राहीलाई उपलब्ध गराइसकेको छ ।