जन्मभुमि खबर ,
पोखरा ।
जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज सार्वजनिक गरिएको पूर्णपाठमा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसलाको पूर्णपाठमा पीडित ‘गौशाला २६’ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ ।
“निजको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको तथा पारिवारिक अवस्था पनि राम्रो नरहेको भन्ने देखिन्छ”, पूर्णपाठकमा भनिएको छ, “सो कुरा घटना विवरण कागज गर्ने देव खनालले बकपत्र गर्दा ‘आफ्नो पारिवारिक स्थिति राम्रो छैन भनेर भन्थिन, आर्थिक सहयोग खोजिरहेको कुरा गर्थिन ।”
पूर्णपाठमा गौशाला २६ लाई बालिग ठहर गरेको क्रिकेटर लामिछानेले खेलाडीको रुपमा प्राप्त गरेको प्रसिद्धिको दुरुपयोग गरी पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै भेट गर्ने, घुमाउने अनि होटलमा एउटा मात्र कोठा लिएर गरेर करणी गर्ने मनसाय बनाएको उल्लेख छ ।
अदालतले गत पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने निर्णय गरेको थियो भने गत पुस २५ गते सजाय तोकेको थियो । लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कार गरेको उजुरी परेपछि गत असोज २० गते अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।
निजविरुद्ध अनुसन्धान गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बलात्कारको मुद्दा जिल्ला अदालत काठमाडौँमा दायर गरेको थियो । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा गत पुस २८ मा न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको भए पनि विदेश जान रोक लगाइएको थियो । लामिछानेले विदेश जान अनुमति माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले गत फागुन १५ गते लामिछानेलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दिएको थियो । अदालतले पूर्णपाठ सार्वजनिक भएसँगै क्रिकेटर लामिछाने फैसला चित्त नबुझेमा उच्च अदालत पाटनमा पुनरावेदन गर्न सक्नेछन् ।
पूर्णपाठमा न्यायाधीशले तथ्य-प्रमाणभन्दा तर्कको बलमा बलात्कार सावित गर्ने जमर्को गरेका छन् ।
सन्दीपले गौशाला- २६ माथि बलात्कार गरेको निष्कर्षमा पुग्ने दुई वटा आधार दिइएको छ, पहिलो ‘पीडित’ को बयान र दोस्रो उनीहरु दुईबीचको असमान हैसियत । अदालतले जाहेरीकर्ताको बयानलाई नै बलात्कारको सबैभन्दा ठूलो प्रमाण मानेको छ । आर्थिक-सामाजिक हैसियत समान नभएका महिला र पुरुषबीच सहमतिमा करणी हुन नसक्ने दलिलसमेत गरिएको छ ।
फैसलाको ७४ नम्बर बुँदामा भनिएको छ, ‘जबरजस्ती करणी मुद्दामा पीडित नै घटनाको आधारभूत गवाह भएको र अन्यथा नभएसम्म निजको भनाइ नै सर्वाधिक महत्वको प्रमाण हुने हुँदा पीडितले जबरजस्ती गरेको भनी भनेको अवस्था र पीडित तथा प्रतिवादीको असमान हैसियत रहेको देखिएको अवस्थामा भएको करणीको कार्यलाई मञ्जुरीमा भएको भन्न मिल्ने देखिएन ।’
अदालतले सन्दीपले गौशालालाई करणी गर्ने नियतले नै होटलमा लगेको अनुमान लगाएको छ ।
बुँदा नम्बर ५६ मा भनिएको छ, ‘निज प्रतिवादीले पीडितलाई होटलमा लिएर जानु र आफूलाई तय गरिएको होटलको कोठामा नबसी पीडित बसेको कोठामा नै बसेको देखिइ प्रतिवादी तथा पीडितको क्रियाकलापको सामान्य क्रम विचार गर्दा प्रतिवादीको मनसाय पीडितसँग करणी गर्नु नै रहेको भन्ने अनुमान गर्न सकिन्छ । पीडितले करणी भएको भनेको र माथि उल्लेखित परिस्थितिबाट पीडित र प्रतिवादीका बीचमा करणीको कार्य भएको भन्ने अवस्था देखियो ।’
पीडितले आफ्नो साथीलाई ‘सन्दीपले साथीको घरमा छोडिसक्यो म सुरक्षित छु’ भनेर म्यासेज लेखेको कुरालाई सहमति मान्न नमिल्ने पूर्णपाठमा उल्लेख छ । प्रतिवादको शरीरमा संघर्षको चिह्नहरु नदेखिएको, स्वास्थ्य परीक्षण प्रतिवेदनबाट करणी भन्ने कुरा पुष्टि नभएको, पीडितले आत्मरक्षाको प्रयास नगरेकोलगायत प्रतिवादी पक्षबाट प्रस्तुत भएका दलिलहरुलाई अदालतले उल्लेखनीय मानेको छैन ।
कस्तो अवस्थामा महिलाले प्रतिकार गर्न सक्दैनन् भन्ने पूर्णपाठमा प्रष्ट्याइएको छ ।
‘एक पक्षबाट भौतिक बलको प्रयोग गरेको वा त्यस्तो बल प्रयोग गर्ने धम्की दिएको अवस्था तथा अर्को पक्ष कुनै कारणबाट अचेत रहेको तथा शारीरिक रुपमा अशक्त रहेको अवस्थामा अर्को पक्षले प्रतिकार गर्न नसकी समर्पण गर्नुपर्ने हुन्छ । यसरी समर्पण गरेको कुरालाई मञ्जुरी मानिँदैन ।’
तर, यीमध्ये कुन अवस्थाका कारणले गौशाला- २६ ले प्रतिकार नगरेकी हुन् भन्ने उल्लेख गरिएको छैन । प्रतिवादीले राजीखुशीमा सँगै बसेको भन्ने ठोस प्रमाण दिन नसकेको फैसलामा जनाइएको छ ।
पूर्णपाठमा थप भनिएको छ, ‘पीडितले आफ्नो साथीलाई आफ्नो घरमा छोडिसक्यो भन्ने म्यासेज घटना हुनुपूर्व नै लेखेको पाइन्छ । घटना हुनुभन्दा पहिला लेखिएको म्यासेजबाट पछि भएको भनिएको घटनालाई प्रमाणित वा खण्डन गर्ने अवस्था हुँदैन ।’
स्वास्थ्य परीक्षणबाट जबरजस्ती करणी पुष्टि नभएको स्वीकारोक्ति पूर्णपाठमा गरिएको छ । घटना भएको धेरै दिनपछि स्वास्थ्य परीक्षण भएकाले त्यसबाट यथार्थ पत्ता नलाग्ने तर्क न्यायाधीशले गरेका छन् ।
‘पीडितको स्वास्थ्य परीक्षण घटना भएको दिनभन्दा १५ दिनपछि र प्रतिवादीको करिब डेढ महिनापछि मात्र भएको देखिन्छ । लामो समयपछि भएको स्वास्थ्य परीक्षणमा करणीपश्चात देखिने संघर्षका चिह्नहरु नदेखिन पनि सक्छन् । पीडित तथा प्रतिवादीका शरीरमा संघर्षका चिह्नहरु नदखिँदैमा करणी नै भएको होइन भनी यकिन हुँदैन । संघर्षका चिह्नहरु देखिएको अवस्थामा एक पक्षको असहमतिमा करणी भएको भन्ने कुरालाई थप पुष्टि गर्ने अवस्था हो । तर, आत्मरक्षाको अधिकार प्रयोग नगर्दैमा करणीको कार्य नभएको भन्ने हुँदैन’, अदालतले भनेको छ ।
घटनालगत्तै पीडितले जाहेरी नदिनुलाई अदालतले सामान्य मानेको छ । जाहेरी दरखास्त कानूनले निर्धारित गरेको हदम्यादभित्रै परेको भन्दै अदालतले केही समय ढिलो जाहेरी दिएको कारणबाट मात्र त्यसलाई सोचीविचारी दिएको भन्न नमिल्ने तर्क गरिएको छ ।
अदालतले वारदातको बेला गौशाला- २६ नाबालिग नरहेको ठहर्याएको छ । तर, उनको मञ्जुरीविना सन्दीपले शारीरिक सम्बन्ध राखेको निष्कर्ष निकालेको छ ।
मञ्जुरीका सन्दर्भमा पूर्णपाठमा भनिएको छ, ‘मञ्जुरी नभएको मानिने परिस्थिति भन्नाले कुटपिट गरी वा गर्ने धम्की दिइ, गैरकानूनी थुनामा राखी, निन्द्रा वा अन्य कारणले अचेत रहेको, शारीरिक अशक्तताको कारणले मञ्जुरी दिन नसक्ने अवस्थामा रहेको, जाहेरवालाको सहमतिविना बेहोस हुने वा प्रतिकार गर्न नसक्ने मादकपदार्थको सेवन गराइ लिइएको मञ्जुरीलाई प्रतिवादीले प्रमाणद्वारा खण्डन नगरेसम्म मञ्जुरी मानिँदैन । प्रतिवादीले जानीजानी झुक्याएको र व्यक्तिगत रुपमा जाहेरवालासँग चिनजान भएको व्यक्तिको भ्रम सिर्जना गरी त्यस्तो कार्य गर्न जाहेरवालालाई जानीजानी उत्प्रेरित गरी लिएको मञ्जुरीलाई वास्तविक मञ्जुरी मानिँदैन ।’
गौशाला- २६ ले सन्दीपलाई भेट्नुमा आफ्नो कमजोर आर्थिक हैसियत मुख्य कारण रहेको अदालतको ठहर छ ।
फैसलाको पूर्णपाठमा भनिएको छ, ‘पीडितको उमेर, निजको पारिवारिक तथा आर्थिक अवस्थासमेत र प्रतिवादीको शारीरिक तथा राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वसमेत हेर्दा यी दुईबीचमा समानता रहेको भन्ने देखिँदैन । पीडितको आर्थिक अवस्था समेतका कारणबाट निज सहज रुपमा दुरुपयोग हुने अवस्थाको देखिन्छिन् । आर्थिक सहयोगको आशको कारणले निज प्रतिवादीसँग भेट गर्न गएको भन्ने देखिन्छ । सोही अवस्थामा प्रस्तुत घटना भएको देखिन्छ ।’
हेर्नुहोस पूर्णपाठ
sandip-lamichan-1706603036 (1)