जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

काठमाडौंको शोभा भगवतीमा लिभिङ टुगेदरमा रहेकी तनहुँकी महिलाको हत्या

जन्मभुमि खबर ,
पोखरा ।

काठमाडौंको शोभा भगवतीमा लिभिङ टुगेदरमा बसेकी महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले उनीसँग बस्ने पुरुषलाई पक्राउ गरेको छ । माघ ३ गते कोठाभित्र  तनहुँको भिमाद नगरपालिका साविक किहुँ-५ की ५१ वर्षीया सोफिया मियाँको शव भेटिएको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीका अनुसार ताल्चा लगाएको कोठाभित्र कम्तिमा ३ महिना अघिदेखि शव रहेको पाइएको बताए । ‘कोठाबाट गन्ध आउन थालेपछी मात्र घटना थाहा भएको पाइएको छ । माघ ३ गते प्रहरीसहितको टोलीले कोठा भित्र पसेर हेर्दा महिलाको शव भेटिएको छ’, एसएसपी खत्रीले भने ।

बन्द कोठा फोरेर हेर्दा शव भेटिएको थियो । आरोपी व्यक्ति भारतीय नागरिक इक्रामउल अन्सारीलाई पक्राउ गरेको छ । अन्सारीले मियाँको हत्यापछि भारततर्फ गएको र हाल नेपाल आएको मौकामा पक्राउ परेको एसएसपी खत्रीले जानकारी दिए ।

‘अन्य व्यक्तिसँग सोफिया सम्पर्कमा रहेको देखेपछि हत्या भएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।  मृतक र हत्या आरोपी दुवै विवाहित हुन् ।

८ वर्षअघि काठमाडौं आएर सिलाईबुनाईको काम गरिरहेका भारतीय नागरिक ४/५ वर्षयता ती महिलासँग लिभिङ टुगेदरमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।