जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कर विवाद बढेपछि पोखरा महानगरको नगर सभा स्थगित , पुनरावलोकन गर्न समिति गठन

जन्मभुमि खबर ,
पोखरा ।

पोखरा महानगरपालिकाले लिने मालपोत तथा भूमि कर महँगो भएको भन्दै करदाताहरुले विरोध गरेपछि अहिले कर विवाद उत्कर्षमा पुगेको छ । नगरपालिकाले कर पुनरावलोकन गर्न समिति नै गठन गरेको छ ।

आइतबार बसेको नगरसभाबाट वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्यीय विशेष अध्ययन समिति गठन गरिएको हो । समितिको सदस्यमा १३ का अध्यक्ष किरण बराल, वडा नम्बर ११ का अध्यक्ष प्रेम प्रसाद कर्माचार्य, १५ का तोरण बानियाँ, १६ का अमृत तिमिल्सिना, २० गंगाबहादुर जिसी छन् ।

कार्यपालिका सदस्य निर्मल दियाली, हरिमाया विश्वकर्मालाई सदस्य बनाइएको छ भने राजश्व शाखा प्रमुख दिपेन्द्र पण्डितलाई सदस्य सचिवमा चयन गरिएको मेयर धनराज आचार्यले जानकारी दिए । सभाबाट ९ जनाको नाम घोषणा भएपनि बाँकी ४ जना दलका नेताहरुको सिफारिसका आधारमा थप हुने छ । ‘कांग्रेस र एमालेले २÷२ जना सिफारिस गर्छन् । त्यसपछि समिति पूरा हुन्छ,’ उनले भने, ‘समितिले १५ दिनमा प्रतिवेदन बुझाउँछ । त्यसपछि सोही सिफारिसका आधारमा नगरसभामा एजेण्डा पेस हुन्छ ।’ समितिले प्रतिवेदन बुझाएपछि १८ गते सभा बस्ने छ ।

आर्थिक ऐन संशोधन गर्ने विधेयक भने आइतबार नै टेबुल भइसकेको छ । आर्थिक ऐनसँगै भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८० र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक आचार्यले सभामा टेबुल गरेका छन् । भवन अभिलेखीकरणको कार्यविधि अघिल्लो वर्ष पनि बनाइएको थियो । उक्त कार्यविधिले काम गर्न छोडेपछि नयाँ कार्यविधि बनाइएको हो ।

नगरसभा अघि आइतबार बिहान कार्यपालिका बैठक बसेको थियो ।

बैठकले एजेण्डा पास गरेपछि मात्रै नगरसभा बसेको हो । सभामा न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङले न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन र सार्वजनिक लेखा समितिका संयोजक झपटबहादुर रानाभाटले लेखा समितिको प्रतिवेदन पेस गरेका छन् ।

यो वर्षदेखि भने १० करोडदेखि २० करोडसम्म लगानी पुँजी भएका उद्योग, व्यवसायहरूले ३५ हजारको सट्टा ४० हजार रुपैयाँ राजस्व बुझाउनुपर्ने हुन्छ । २० करोडभन्दा बढी लगानी भएका उद्योग व्यवसायको कर पनि पाँच हजारले बढेर ५० हजार पुगेको छ ।

विधायन समितिको तर्फबाट टेबुल गरिएका विधेयकहरू, न्यायिक समितिको प्रतिवेदन, न्यायिक समिति सदस्य भावना श्रेष्ठको राजीनामा र नयाँ नियुक्तिको प्रस्ताव, आर्थिक ऐन अध्ययन विशेष समिति गठन लगायत केही प्रस्तावहरू सभामा छलफलका लागि पेस गर्दै नगर सभाको अर्को बैठक माघ १८ गते बस्ने गरी नगरप्रमुख धनराज आचार्यले आइतबारको बैठक स्थगित गरेका थिए ।