जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

२३ औं संस्करणको ‘आहारारा पोखरा’ गोल्डकपको सम्पुर्ण तयारी पुरा

जन्मभुमि खबर ,
पोखरा ।

मोफसलकै चर्चित ‘आहारारा पोखरा’ गोल्डकपको २३ औं संस्करणको तयारी पूरा भएको छ । माघ ९ गतेदेखि पोखरा रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूर भएको आयोजक सहारा क्लबले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा १२ टिमले सहभागी जनाउँदैछन् । प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागी हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए ।

यसअघि आहारारा पोखरा गोल्डकपमा भारतीय लिगको सातौं स्थानमा रहेको दिल्ली एफसी सहभागी हुने बताइएको थियो । तर, दिल्लीले अन्तिम समयमा आउन नसक्ने बताएपछि विभागीय टिम एपीएफ भित्रिएको हो ।

माघ २० गतेसम्म चल्ने प्रतियोगितामा पुरस्कार तथा प्रोत्साहनमै २८ लाख ३२ हजार ५५५ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै आयोजकले प्रत्येक खेलखेलवापत अतिरिक्त प्रोत्साहन रकम पनि दिँदै आएको छ । जसअनुरुप प्रि–क्वाटर विजेता र पराजित दुवै टिमले समान २० हजार रुपैयाँका दरले पाउनेछन् ।

क्वार्टरफाइनलमा विजेता र पराजित दुवै टिमले समान ३० हजार रुपैयाँ र सेमिफाइनलमा विजेता र पराजित दुवै टिमले समान ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिए ।

= विद्यार्थीलाई प्रवेश निशुल्क, प्रत्येक दिन २ जना दर्शक पुरस्कृत हुने

२३ औं संस्करणको आहारारा पोखरा गोल्डकप हेर्न आउने विद्यार्थीहरुलाई क्वार्टरफाइनलसम्म निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक सहाराका अध्यक्ष केवशराज बरालले जानकारी दिए ।

विद्यार्थीहरुले निशुल्क प्रवेश पाउन विद्यालयले आयोजकसँग समन्वय गर्नुपर्नेछ भने अनिवार्य विद्यार्थी पोशाकमा उपस्थित हुनुपर्नेछ ।

त्यस्तै, आयोजकले प्रत्येक दिन २ जना दर्शकलाई पुरस्कृत पनि गर्ने भएको छ । प्रत्येक दिन गोलाप्रथाबाट चुनिएका २ जना दर्शकलाई ५ /५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

सहारा क्लबले फुटबल टुर्नामेण्टबाट एकेडेमी चलाउँदै आएको छ । एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् । २३ औँ प्रतियोगिता माघ ९ गतेदेखि २० गतेसम्म पोखरा रङ्गशालामा हुने अध्यक्ष केशवराज बरालले जानकारी दिए । प्रतियोगिता सञ्चालनमा उद्योगपति तथा पूर्व सांसद स्व.सूर्यबहादुर केसीको परिवारले साथ दिएको छ । उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई पोखरा महानगरले कार्यपालिकाबाटै निर्णय गरेर संरक्षकत्व दिएको छ । सहाराले विभिन्न देशमा शाखा खोलेको छ । उनीहरूकै सहयोगबाट प्रतियोगिता चल्दै आएको छ । एन्फाले प्रतियोगिता चलाउन मैदान निःशुल्क दिएको छ ।