जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रुसी सेनामा भर्ना भएका लमजुङका गुरुङको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

रुसी सेनामा भर्ना भएका थप एक जना नेपालीको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो । दुधपोखरी गाउँपालिकाका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङले उनको मृत्यु भएको जानकारी दिए । उनले भने, ‘पहिला सम्पर्कबिहीन भएको रहेछ । पछि मृत्यु भएको पुष्टि भयो ।’

मृत्यु भएको खबर आउनुभन्दा पहिला लामो समय साजन सम्पर्कबिहीन भएको बताइएको छ । क्षेत्रबहादुरले भने, ‘पहिला दैनिक सम्पर्क हुँदो रैछ । अहिले सम्पर्क नभएपछि मृत्युको आशंका भएको थियो । पछि मृत्यु भएको पुष्टि भयो ।’ उनले आफू साजनको घरमा पुगेर उनको परिवारलाई भेटेको बताए ।

गत असोज २ गते उनी रूस गएका थिए । ‘हामीलाई त रूसी सेनामा गएको नि थाहा थिएन । माल्टामा छु भन्थ्यो,’ मृतकका बुबा श्रीमान गुरूङले भने, ‘अस्ती रूस-युक्रेन युद्वमा बित्यो भनेपछि झसङ्ग भयौं ।’

साजनले पुसको १६ गते श्रीमती सीतालाई भिडियो कल गरेका थिए । ‘राति ८ बजेतिर फोन आएको रैछ । बुबाको मुख हेर्छु भनेछ, बुहारीले फोन दिएको २ सेकेन्डमै फोन काटियो । न छोराले देख्न पायो, न मैले,’ बुबा श्रीमानले भने ।

उनको घरमा बुबा, आमा, श्रीमती र ५ वर्षका छोरा छन् ।

अवैध रुपमा रुसी सेनामा भर्ना भएका नेपाली युवाहरूको मृत्यु भएका खबरहरू आइरहेका छन् । १५ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । केही नेपाल युवाहरू युक्रेनी सेनाको कब्जामा समेत परेका छन् ।