जन्मभुमि खबर ,
पोखरा ।
नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेर मृत्यु हुनेका संख्या १२ पुगेको छ । शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती नदीमा बस खसेको थियो ।
दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनक बहादुर मल्ल जानकारी दिए । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरएको छ ।
दुर्घटना भएको बस नमस्ते यातायातको रहेको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
घाइतेहरुलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।
बसका चालकले इन्जिनमा समस्या भएपछि दुर्घटना भएको बयान दिएका छन् । प्रहरीको नियन्त्रणमा रहेका चालक लाल बहादुर नेपालीले बसको सापट बिग्रिएपछि दुर्घटना भएको बयान दिएका हुन् ।
‘हामीले चालकसँग बयान लिँदा बसको सापटले काम नगरेपछि दुर्घटना भएको भनेका छन्’ जिल्ला प्रहरी कार्यालयका डिएसपी जनक मल्लले भने ‘बसको इन्जिनमा समस्या भए नभएको बारे परीक्षण गरिनेछ ।’
राप्ती नदिमा खसेको बस बाहिर निकालिने र बसको इन्जिनको परीक्षण गरिने उनले बताए । चालकले बसको सापट बिग्रिएको र बस नमोडिँदा नदिमा खसेको प्रहरी समक्ष बयान दिएका छन्। तर सवारी साधनका जानकारहरु भने बसको इन्जिनमा प्रयोग हुने सापटको समस्याका कारण बस नमोडिने समस्या नहुने बताउँछन् । स्टेरिङ फेल हुनु, पट्टा भाँचिदा बस नमोडिएर दुर्घटना हुने खतरा रहने तर सापट बिग्रिँदा यो समस्या नहुने उनीहरू बताउँछन् ।