जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेले गरे सरकारलाई प्रश्न : जीबी राईलाई किन पक्राउ गरेन ?

जन्मभुमि खबर ,
पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीका मुख्य आरोपी गितेन्द्रबाबु (जीबी) राईलाई सरकारले किन समाएन भनेर प्रश्न गरेका छन् ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछानेको समेत नाम मुछिए पनि प्रष्ट पार्न सोमबार आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आफूविरुद्ध लागेका आरोपहरुको प्रमाण संकलन गरिरहेको र कानुनी उपचारमा जाने तयारी गरेको भन्दै जीबी राईलाई सरकारले किन नपक्रेको भनेर प्रश्न गरेका हुन् ।

‘पूर्व उपप्रधानमन्त्रीलाई समाउन सक्ने सरकारले जीबी राईलाई किन समाउन सक्दैन र ? एकजना जीबी राईलाई समाउन सक्दैन र ? तर मलाई कताकता यो फायल खोल्दै जाँदा उहाँहरुका आफन्त धेरैको नाम आउँछ कि भनेर हो कि म हेर्दैछु उहाँहरुलाई’, लामिछानेको भनाइ छ ।

लामिछानेले संचारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै जीबी राईलाई पनि जहाँसुकै भएपनि सार्वजनिक भएर पीडितहरुको पैसा व्याजसहित तिर्न आग्रह गरे ।

‘र, जीबी राईजी तपाई जहाँ हुनुहुन्छ । एउटा कुनै समय टेलिभिजनमा सहकार्य गरेको मित्रको हिसाबले । यति धेरै मानिसहरु पीडित छन् । उनीहरुलाई तपाईँले कहीँबाट आएर तिनको पैसा, डिपोजिट कसरी फिर्ता गर्नुहुन्छ ? गर्नुस्’, लामिछानेले भने, ‘कुन सम्पत्ति बेचेर फिर्ता गर्नुहुन्छ । मकै पोलेर जम्मा गरेकाहरुको पैसा जस्ताको तस्तै व्याजसहित संसारको जुन कुनामा भएपनि फिर्ता गर्नुहोस् ।’ उनले सरकारसँग समेत सहकार्य गर्न अनुरोध गर्दै भने, ‘आउनुहोस्, सार्वजनिक हुनुहोस् ।’ त्यस्तै उनले सहकारी पीडितहरुलाई आफूले बारम्बार पीडितहरुको पैसा फिर्ताका लागि लडाई लड्ने बताएको भन्दै आफू लडिरहने बताए । ‘यो लडाइँमा तपाईँहरू हार्नुहोला म हार्दिन भनेको छु । तपाईँहरूको पैसा फिर्ता नभएसम्म म लडिरहन्छु भनेर भनेको छु’, लामिछानेको भनाइ छ । गरिब जनाताको पसिनाको कमाई अपचलन गरेर सम्पर्क बिहिन नहुन राईलाई आग्रह गरे । ‘मकै पोलेर,भारी बोकेर कमाएको एक एक रुपैयाँ जम्मा गरेको तपाईले अपचलन गर्न पाउनु हुन्न,’ लामिछानेले भने,‘मेरो कुनै बेलाको पूर्वसहकर्मीको नाताले मेरो बिन्ती छ । सम्पर्कमा आउनुस् । पीडित जनताको रकम फिर्ता गर्ने योजना प्रस्तुत गर्नुस् ।’

पार्टी सभापति लामिछानेले राईलाई जनताको रकम फिर्ता गर्ने योजना ल्याउन आग्रह गरे । सम्पती बेचेर हुन्छ वा अरु के उपाय लगाएर हुन्छ रकम फिर्ता गर्न पनि उनले राईले भने ।

राईलाई सम्पर्कमा ल्याउन सरकारले पनि प्रभावकारी भूमिका नखेलको भन्दै उनले सरकारको पनि आलोचना गरे ।