जन्मभुमि खबर ,
पोखरा ।
पोखरा महानगर पालिका वडा नम्बर ८ नयाँबजारमा रहेको मित्रमिलन सहकारी ठगी अभियोगमा अदालतले संस्थाका अध्यक्ष रमण पौडेल र प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । उनीहरु दुवै जना यसअघि नै चेक अनादर मुद्दामा कास्की कारागारमै थिए ।
कास्की जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर थापाको इजलासले आइतबार थुनामा राख्ने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए । ३२ वर्षीय अध्यक्ष पौडेल स्याङ्जा आँधिखोला ४ स्थायी वासिन्दा हुन् भने २८ वर्षीय अधिकारी पोखरा २३, खोरापाखाका हुन् ।
बिहीबार र शुक्रबार बयानपछि आइतबार थुनछेक बहस भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ता शान्तिदेवी शर्माले बताइन् । शर्माका अनुसार पोखरा नयाँबजारमा प्रधान कार्यालय रहेको मित्रमिलन सहकारी ठगी प्रकरणमा झण्डै २१ करोड रकम बिगो माग दाबी र कैद सजायका लागि जाहेरी परेको थियो ।
उक्त सहकारी शाखा बिस्तारबारे घूस प्रकरणमा पूर्व रजिष्ट्रार एवं कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । न्यायाधीश ऋषिराम आचार्यको इजलासले इजलासले गत मंगलबार पराजुलीसहित सहकारीका सञ्चालक समिति सदस्य गोपाल खनाल, सहकारी सल्लाहकार एवं सेयर सदस्य राजु बराल र पोखरा १७, बिरौटाका ४२ वर्षीय बुद्धिसागर पौडेललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
मित्रमिलन सहकारी ठगी अभियोगमा ३३ जना प्रतिवादीविरुद्ध अदालतमा मुद्दा विचाराधीन छ । विज्ञ प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेकोमा समग्रमा जिल्ला सरकारी वकिल कार्यालयले कानुनबमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो ।
सहकारी सञ्चालक समितिका पदाधिकारीसमेत बचतकर्ताको बचत रकम फिर्ता नगरी करोडौं रकम हिनामिना प्रकरणमा जनप्रतिनिधि, पत्रकार, अधिवक्ता पनि मुछिएका छन् । अझै २७ जना फरार छन् ।