जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माछापुच्छ्रे गाउँपालिकामा व्यवसायीले गरे पर्यटन सुचना केन्द्र तोडफोड

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले राखेको पर्यटन सुचना संकलन केन्द्रमा व्यवसायीले तोडफोड गरेका छन् । गाउँपालिकाले एक विज्ञप्तिमार्फत तोडफोडलाई लिएर आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकले ट्रेकिङका लागि माछापुच्छ्रे गाउँपालिकाको रुट प्रयोग गर्छन् । गाउँपालिकाले लो क्याम्पस्थित सूचना केन्द्रमा पर्यटकबाट शुल्क उठाउँदै आएको छ । त्यसको विरोधमा आइतबार व्यवसायीले सूचना केन्द्र तोडफोड गरेका हुन् ।

गाउँपालिकाका अनुसार आफ्नो क्षेत्रभित्र पर्ने अन्नपूर्ण संरक्षण क्षेत्रको मर्दी हिमाल पदमार्गमा पर्यटन सूचना संकलन एवं व्यवस्थापन, विपद् व्यवस्थापन, संरक्षणमैत्री पर्यटन पूर्वाधार निर्माण, पर्यटन सेवा शुल्क संकलनसहितका पर्यटनसँग सम्बन्धित कामहरू एकीकृत रूपमा सञ्चालन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहयोगमा गत कार्तिकमा कार्यालय स्थापना गरिएको हो ।

पालिकाले नेपालको संविधानको अनुसूची ८, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, आर्थिक ऐन, २०८० र प्रचलित नियम कानुनको अधिनमा रहेर गाउँपालिकाको बृहत्तर हितलाई ध्यानमा राखी गाउँसभाले गरेको निर्णयानुसार सञ्चालित कार्यमा अवरोध सिर्जना गर्नु संविधान, नियम र कानुनको ठाडो उल्लंघन भएको उल्लेख गरेको छ ।