जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बाँदर नियन्त्रणका लागि रुख काट्ने अभियानको विरोध

जन्मभुमि खबर ,
पोखरा ।

बाँदर नियन्त्रणका लागि ‘मेरो रुख, म काट्छु’ अभियान चलाउनेबारे पोखरा महानगरपालिका–१९ ले गरेको निर्णयको विरोध भएको छ ।

वडा कार्यालयले सोमबार सार्वजनिक सूचनामार्फत १० दिनभित्र घर वरपरका रुख कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन वडावासीलाई सूचित गरेको थियो ।

वडाको निर्णय सार्वजनिक भएपछि वातावरणकर्मीलगायतले विरोध जनाएका हुन् । महानगरपालिकाका प्रमुख धनराज आचार्यले १९ नम्बर वडाको रुख कटान गर्ने अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । स्थानीय सरकार सञ्चालन ऐनबमोजिम महानगरपालिकाबाट रुख कटानको कुनै निर्णय नभएको भन्दै सो कार्य नगर्न/नगराउन सेचत गराइएको उनले बताए ।

महानगरप्रमुख आचार्यले वडाले जारी गरेको सूचनाको भ्रममा नपर्नसमेत वडावासीलाई आग्रह गरेका छन् ।

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदरबाट अति प्रभावित क्षेत्र लामाचौर र पुरुन्चौरमा बाँदर नियन्त्रणका लागि घर वरपरका रुख काट्न वडावासीलाई सूचित गरेका थिए । वडाको सूचनाप्रति सामाजिक सञ्जालमा पनि टीकाटिप्पणी भइरहेको छ ।