जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा राष्ट्रियसभाको निर्वाचन भइरहेको ठाउँमा सुर्यदर्शन सहकारीपीडितको धर्ना

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भइरहेको ठाउँमा सूर्यदर्शन सहकारीपीडित धर्ना बसेका छन् ।

उनीहरूले आफूहरूको समस्या समाधानका लागि पहल गरिदिन माग गर्दै पार्टीका नेता, प्रदेश सांसदहरूलाई आग्रह गरिरहेका छन् । पोखरास्थित जीबी राई समूहको सूर्यदर्शन सहकारीले १ अर्ब ११ करोड १ लाख रुपैयाँ बचत फिर्ता नगरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

सहकारीविरुद्ध १ हजार ३७ जना बचतकर्ताले प्रहरीकहाँ उजुरी दिएका थिए । पोखरा महानगरपालिकाले गरेको अध्ययनमा १ अर्ब ३१ करोड ५३ लाख ८२ हजार रुपैयाँ अपचलन भएको देखिएको थियो । तर, बचतकर्ताले दाबी गरेको रकमअनुसार प्रहरीले प्रतिवेदन तयार पारेको हो । यो सहकारीमा १८ हजार ७ सयवटा खाता छन् ।

सूर्यदर्शन सहकारीको आर्थिक हिनामिनामा संलग्न उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भविश्वर अर्याल र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

यीसहित १९ जनामाथि सूर्यदर्शनको पैसा हिनामिनाको आरोप छ । पूर्वअध्यक्ष जीबी राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक धीरजकुमार दास, मनोज नकर्मी, हेमन्त अधिकारी, आइस्मा गुरुङ, प्रमोद भट्टराई, सुरज श्रेष्ठ, कविता तामाङ, सागर केसी, दिनेश रोका, ललिता तामाङलगायत १५ जना अझै फरार छन् ।