जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ भव्यताका साथ सम्पन्न

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर २ अग्रजप्रति समर्पित ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रवचनबाट कार्यक्रमको शुरुवात गरे ।

त्यसपछि पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गरेका थिए । स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारहरुले उनीहरुकै गीत गाएर ट्रिब्यूट दिए ।

करीब दुई घण्टासम्म चलेको कार्यक्रममा हार्मोनीका अध्यक्ष ईतु जोजिजुले अरुणा लामाको ‘तिम्रो माया पत्थरको झुक्याउने रुप जस्तो, तारादेवीको ‘तिम्रो नाम अझै छ ओठमा’, कौशल्या गुरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य र तारादेवीको फुलैफुलको मौषम तिमीलाई’, रजनी रिदम राईले अरुणा लामाको चौतारीमा बसेर रुन पाउँ, तारादेवीको मनको निश्चलतामा, मितु पालले अरुणा लामाको ‘म त चुपचाप बँसे’ र तारादेवीको ‘आमा भएर बोकि हेर’, अजुदा थापाले तारादेवीको आउ नआउ तिम्रो खुशी र अरूणा लामाको कल कल सल सल गीत गाएर ट्रिब्यूट दिएका थिए । अग्रज गायक रामभक्त जोजिजूले युगल गायनमा साथ दिए ।

त्यसपछि शितल थापाले अरुणा लामाको ‘लहरे बर घुमाउने चौतारी र तारादेवीको ‘एक फुल झरेर के भो’, अजुदा थापाले अरुणा लामाको ‘कल कल सल सल र तारादेवीको आउन आउ तिम्रो खुसी’ बोलको गीत स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित गरेर कार्यक्रमको बिट मारेकी थिईन् ।

कार्यक्रमको सञ्चालन एभरेस्ट मिडियाका सिईओ एवं पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सञ्चारकर्मी जुना थापाले गरेका थिए ।