जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखराबाट ज्यान मुद्दाका फरार प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालतको गत भदौ १८ गतेको फैसलाले ज्यान सम्बन्धी कसूरमा १० वर्ष कैद र १ लाख ४० हजार जरिवाना भुक्तान गर्न वाँकी रही हालसम्म फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

०७९ माघ १५ गते काहुँखोलामा ३५ वर्षीया संगीता सापकोटालाई आगो लगाएर हत्या गरेका आरोपमा जिल्ला अदालत कास्कीले भदौ १८ गते उनलाई दोषी ठहर गरेको थियो ।

पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका वडा नं.६ घर भई हाल पोखरा १३ काहुँखोला बस्ने कृष्ण बहादुर क्षेत्री रहेका छन ।

पोहोर माघ १५ गते काहुँखोलामा एक महिलाले आफैंलाई पेट्रोल छर्केर आगो लगाएको खबर फैलिएको थियो । घटनालाई ‘आत्मदाह’ देखाउन घटनाका बखत उपस्थित रहेका क्षेत्रीले आफैंलाई पनि आगो लगाएका थिए ।

त्यतिबेला क्षेत्रीले ती महिलाले आफैंलाई आगो लगाउँदै गर्दा देखेको र बचाउन जाँदा आफूलाई पनि आगो लागेको बयान दिएका थिए । घटनामा घाइते दुवैलाई तत्काल उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । क्षेत्री संगीताकै घरमा भाडामा बस्ने गर्दथे ।

घाइते सापकोटाले उपचारकै क्रममा ज्यान गुमाइन् भने घाइते क्षेत्री निको भए । तर, सापकोटाका आफन्तले उक्त घटना आत्महत्या नभई हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनी पक्राउ परेको डीएसपी विकले जानकारी दिए ।

क्षेत्रीलाई जिल्ला अदालतले सुरुमा धरौटीमा रिहा गरेको थियो । त्यसपछि बाहिर आएका उनी फरार थिए । ‘यहीबीचमा दोषी करार भएको फैसला आयो । तर, निज फरार थिए,’ डीएसपी विकले भने ।

क्षेत्रीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराई कारागार चलान गरिएको कास्की प्रहरीले जनाएको छ ।