जन्मभुमि खबर ,
पोखरा ।
पोखराको पर्यटनलाई सघाउन एसियाली विकास बैंक (एडीबी)ले साढे चार अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।
त्यसमध्येको झन्डै ३५ मिलियन (चार अर्ब ६६ करोड) बराबरको योजना पोखराको पर्यटन विकासमा खर्च हुने छ ।
यसमा विभिन्न परियोजनाहरू सञ्चालन हुने छन् । परियोजना अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्रयाक निर्माण, पञ्चासे क्षेत्र विकास परियोजना, ७ ताल जोड्ने साइकल ट्रेल, बोटानिकल गार्डेन, लेखनाथ क्षेत्रमा विपद् व्यवस्थापन युनिट स्थापना तथा सञ्चालन, फिर्के कोरिडोर निर्माणलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित परियोजनाहरू रहेका छन् ।
अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र एसियाली विकास बैंकका नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गरेका हुन् ।
जसमध्ये दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरपालिकासँग साढे ४ अर्ब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।