जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका सात जना पत्रकार सम्मानित, मिडिया विधेयक मिडियामैत्री आउने मुख्यमन्त्रीको भनाई

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात जना पत्रकार सम्मानित भएका छन ।

शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ बाट सन्देश श्रेष्ठ ( एभरेष्ट एफएम र नागरिक ) २०८० प्रकाश ढकाल (आदर्श समाज) नगद राशी २० हजार १ सय ११ रुपैयाँसहित सम्मानित भएका छन ।

आर्थिक पत्रकारिता पुरस्कार २०७८बाट टंकराज अधिकारी (नेपाल समाचार पत्र) र उनिसङ्गै दिनानाथ बराल (कारोबार दैनिक) लाई आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरिएको हो । सो पुरस्कारको राशी नगद २० हजार रुपैयाँ रहेको छ ।

यस्तै गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने  (कान्तिपुर) र २०८० बाट ओम हमाल (जनसंचार) सम्मानित भएका छन । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।

२० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी (समय समाचार डट कम)  पुरस्कृत भएकी छन ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानित सबै पत्रकारलाई बधाई दिदै पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्ने आवश्यकतालाई औंल्याए ।

गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउने बताउदै मुख्यमन्त्री पाण्डेले अबको हिउँदे अधिवेशनमा विधेयक पास हुने उल्लेख गरे ।

सामाजिक सञ्जालका कारण मुलधारका मिडियालाई प्रभाव पारिरहेको बताउदै उनले मुलधारका मिडियाले नै सामाजिक सञ्जाललाई सही बाटोमा ल्याउनुपर्ने बताए । ‘सामाजिक संजालले जनमत सृजना गरेको छ, त्यो सकरात्मक हुनुपर्यो’, उनले थपे ।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पत्रकारिता क्षेत्रको श्रीवृद्धिका लागि महासंघ क्रियाशिल रहेको बताउदै पत्रकार महासंघ कास्कीले प्रदान गर्दै आएको पुरस्कारले पत्रकारिता क्षेत्रमा लागेकाहरुलाई प्रोत्साहन मिल्ने बताइन । पत्रकारिता क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने बाटोमा महासंघ अग्रसर रहेको उनको भनाई थियो ।

सम्मानितहरुको तर्फबाट बोल्दै कुलचन्द्र न्यौपानेले पत्रकार महासंघ कास्कीले आफु सहित ७ जना पत्रकारलाई सम्मान गर्दा पत्रकारिता क्षेत्रमा अझै क्रियाशिल भएर लाग्न प्रेरित गरेको बताए । पत्रकारिता क्षेत्रमा समस्या भएतापनि यस्ता पत्रकारिताका पुरस्कारबाट पत्रकारलाई सो पेशामा लाग्न प्रेरित गर्ने उनले बताए ।

सम्मानित भएका व्यक्तिहरुको विषयमा पत्रकार महासंघ कास्कीका अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले सम्मानित सबै पत्रकारको परिचय खुलाएका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमल्सिना पंगेनी लगायतले पत्रकारिता क्षेत्रको बारेमा आ–आफ्नो भनाई राखेका थिए ।

महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले उपस्थित सबैलाइ धन्यवाद व्यक्त गर्दै सो कार्यक्रमको सचिव माधव बरालले कार्यक्रमको संचालन गरेका थिए ।